Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ‘बोयर’ ले उक्सिएका युवा

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
सुनसरीमा ‘बोयर’ ले उक्सिएका युवा

धरानः सुनसरीको इटहरीका राजु बस्नेत अहिले दक्षिण अफ्रिकी बोयर जातका खसीबाख्रा पालेर मनग्य आम्दानी गर्न थालेका छन् । इटहरी–१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले कृषि फर्म सञ्चालनमा ल्याएका हुन् ।
उनले अहिले लाखौं कमाउँदै गएका छन् । उनको ‘बिएण्डजी’ नामक कृषि फर्ममा अहिले बोयर जातका खसीबाख्रा छन् । स्थानीय जातका भन्दा बोयर जातको खसीमा तौल धेरै हुने र धेरै नाफा हुने भएकोले यतसर्फ किसानको आकर्षण बढ्दो रहेको बताए । ‘मैले अहिलेसम्ममा फाइदा लिन सकेको भनेको बोयर जातको बाख्रापालनबाटै हो’, उनले भेटमा भने, ‘यसप्रतिको चासो अहिले पूर्वभर बढिरहेको छ ।’ उनका का अनुसार पूर्वका संखुवासभा, भोजपुर, खोटाङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालगायतका जिल्लाबाट समेत यसप्रति चासो बढ्दै गएको र माग पनि बढ्न थालेको छ । उनले पूर्वका विभिन्न जिल्लाका कृषकलाई यो बाख्रापालन कसरी गर्ने भनेर आफूले जानेको जानकारी समेत दिँदै आएको बताए ।
विदेश (कतार) मा ६ वर्ष पसिना बगाएर फर्केका उनले बाख्रा पालनमा सक्रिय छन् । ‘अन्य कृषि पेशाभन्दा बढी बोयर जातका बाख्रापालनले मलाई उकास्यो’, उनले भने, ‘त्यही भएर यसैमा निरन्तर लागिरहेको छु ।’
उनी विदेश पनि नबसेका होइनन् । शिक्षण पेशामा रमाउँदा रमाउँदै उनी कतार हान्निएका थिए । ‘यहाँ शिक्षण पेशामै थिएँ, वैदेशिक रोजगारीमा साढे ६ वर्ष बसें’, उनले खुलाए, ‘विदेशमा सिभिल सुपरभाइजरको काम गर्थे, एक लाख बढी कमाउँथे, विदेशको लगानी अहिले इटहरीमा पोख्दैछु ।’
उनले १० कट्ठा जग्गा किनेर त्यसैमा लगानी गरिरहेको बताउँछन् । ‘अहिले विदेशमा पुगेर पसिना बगाउन परेको छैन, विदेशमा हुने कमाइ नेपालमै बसी बसी कमाइरहेको छु’, उनले थपे, ‘विदेश कमाउने गरेको लाख रुपैयाँ बढी त इटहरीमै कमाउँदै आएको छु ।’
उनले अहिले फर्ममा बोयर जातका बाख्रापालनसँगै बङ्गुरपालन, लोकल कुखुरा, टर्की पनि पाल्दै आएका छन् । हालसम्म उनले फर्ममा संरचनासहित ३० लाख रुपैयाँ बढी लगानी गरिसकेका छन् । ‘अहिले ३० लाख बढी लगानी गरेको छु’, उनले भने ।
कृषि क्षेत्रमै युवापुस्ता रमाउन सक्ने सजिलै कमाइने उनले बताए । ‘अहिले युवापुस्ताको कन्सेप्ट के छ भने पढेलेखेका युवाले कृषि कर्म गर्नु हुँदैन तर युवापुस्ताले नै कृषि क्षेत्र उकास्न सक्छन्, कृषिबाटै युवाले लाखौं कमाइ गर्न सक्छन् ।’ उनले थपे ।
विदेश हुँदै कृषि क्षेत्रमा होमिनेलाई अनुदान र सहुलियत सरकारले दिन्छ भनेर सुनेपछि हौसिएको बस्नेतले अहिलेसम्म अनुदान पाएका छैनन् । ‘सरकारको अनुदान पाएकै छैन’, उनले भने, ‘अहिले त्यही सहुलियत कर्जा लिएको छु, त्यसले केही सहज भने भएको छ ।’ अनुदानको लागि आफू विभिन्न ठाउँ चहारेपनि अहिलेसम्म कहीँकतैबाट अनुदान नपाएको उनले बताए । सरकारले वार्षिक करोडौं रुपैयाँ अनुदान बाँडेको समाचारबाहेक पैसा देख्न नपाएको उनको भनाइ छ । ‘सरकारले करोडौं रुपैयाँ अनुदान दिन्छ तर वास्तविक किसानलाई भन्दा पनि गैरकिसानहरुलाई ऋण दिनु दुःखद् हो’, उनले थपे । तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend