धरानः धरानमा होलीको उल्लास छाएको छ । अघिल्लोपटक कोरोना महामारीको त्रासकै कारण अधिकांशले होली खेलेनन् । बिहानैदेखि युवायुवती वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे ।
यसपटक दिल खोलेर होलीमा रमाउन पाएको धरान–१५ की सविना लिम्बूले बताइन् । ‘खासमा भन्ने हो भने यसपटक भानुचोक, छातोचाकलगायत अन्य चोकचोकमा पनि युवापुस्ताको जमघट रह्यो’, उनले थपिन्, ‘त्यस्तै, भानुचोकमा आयोजना भएको आउटसाइटर ब्याण्डको कन्सर्टलगायत अन्य साङ्गीतिक कार्यक्रम कम भएकोले पनि युवापुस्ताको उपस्थिति धेरै रह्यो ।’
अधिकांश धराने युवापुस्ता, बालबालिका र वृद्धवृद्धाले यसपटक होली खुलेरै मनाए । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली धरानमा यसपटक भने धेरै रसिलो बनेको युवापुस्ताको भनाइ छ । ‘यसपटकको होली धेरै रसिलो छ’, धरान–१२ की रेनु लिम्बूले भनिन्, ‘जे होस् दिलखोलेरै मनाइयो ।’
भानुचोकमा नियाल्दा युवापुस्ताहरुको जमघट बढी थियो । अन्य चोकमा पनि युवापुस्ता धेरै हिँडिरहेका थिए । युवापुस्ताका लागि होली रसिलो नै बनेको थियो । युवापुस्ताहरू भानुचोक, छाताचोकलगायत भित्री सडकमा पनि यत्रतत्र होली खेल्दै गरेको अवस्थामा भेटिएका थिए ।
यसपटक भानुचोकमा होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे भयो । सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लागे । भानुचोकमा सयौं युवापुस्ता उपस्थित थिए र होलीको रङ्ग दल्दै ओहोरदोहोर गरिरहेका थिए । यसपटकको होली विन्दास पाराको बनेको धरानका विपीन गुप्ताले जानकारी दिए । तस्वीरहरुः शेखरनाथ जोगी


























































