Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बिरामीको घर-आँगनमै डाक्टर

हाम्रो कोशी आवाज
चैत्र ५ २०७८, शनिबार
धरानमा बिरामीको घर-आँगनमै डाक्टर

धरानः परिवर्तनका लागि सामाजिक अभियानले १२ औं संस्करणको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ ।
धुलिखेल समाज, धरानको सहकार्यमा धरान–१ मा सम्पन्न क्लिनिकमा ७१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परीक्षण गराएका थिए । परिवर्तनका लागि सामाजिक अभियानले हरेक महिनाको पहिलो र तेस्रो शनिबार आयोजना गर्ने यो निःशुल्क क्लिनिक धरान–१ स्थित धरान मोडल कलेजमा आयोजना गर्दै आएको थियो । विगतका ३ संस्करणका कार्यक्रमहरु वडावडामा आयोजना गर्ने अभियान अनुरुप १८ नं. वडा, २ नं. वडामा सम्पन्न भइसकेको र आज २०७८ चैत्र ५ गते धरान–१ स्थित धुलिखेल समाजको सहकार्यमा आयोजना भएको हो ।
अभियानका अध्यक्ष विष्णु बरालले समुदायमा सामाजिक स्वास्थ्य क्लिनिक निक्कै नै प्रभावकारी र फलदायी बन्दै गएको बताए । अस्पतालमा लाइन लागेर उपचार गराउन नसक्ने ७० वर्षभन्दा माथिका बुबाआमाहरुका लागि यो कार्यक्रमले सहजता प्रदान गरेको पनि बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण हुने सो सामाजिक क्लिनिकमा विशेषगरी मुटु, उच्च रक्तचाप र सुगरको परीक्षण हुने कार्यक्रमका संयोजक त्रिभुवन बरालले बताएका थिए ।
परिवर्तनका लागि सामाजिक अभियानमा आबद्ध मोहन श्रेष्ठ, वर्षा अग्रवाल श्रेष्ठ, भोजराज श्रेष्ठ, त्रिभुवन बराल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाल, ऋषिराम भट्टराई, सुष्मन श्रेष्ठ, आशिषराज यादवलगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेका क्लिनिकमा ब्लड प्रेसर जाँच्न र अन्य सहयोगका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निर्मला बाँस्तोलाले सहयोग गरेकी थिइन् ।
यस्ता प्रभावकारी कार्यक्रमहरुको आयोजनामा सहकार्य गर्न पाएकोमा धुलिखेल समाजका अध्यक्ष युगलकुमार श्रेष्ठलेसम्पूर्ण सहयोगी र विशेष गरी डा. प्रशान्त शाह र आयोजकलाई आभार व्यक्त गरेका थिए ।
आफ्नो स्वास्थ्य जाँच गराउन आएकी धरान–३ निवासी विमलादेवी श्रेष्ठले यति सजिलै घर–आँगनमा आफ्नो स्वास्थ्य जाँच गराउन पाउँदा निक्कै नै सहजता भएकोमा खुशी व्यक्त गरिन् । श्रेष्ठले यस्ता कार्यक्रमहरु आयोजना गरेकोमा परिवर्तनका लागि सामाजिक अभियानप्रति पनि आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति: चैत्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend