धरानः लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमा बापतको करोडौं रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ ।
यसैबीच प्रतिष्ठानले चैत १५ गतेदेखि बिमा सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य बीमा गराएका विमितहरुलाई प्रतिष्ठानले बहिरङ, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गत सम्पूर्ण सेवाहरु अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगन गरिएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीद्वारा जारी सूचनामा जनाइएको छ ।
बिमा वापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ष्ठान प्रशासनले पत्र लेखेको थियो ।

स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो । गत कात्तिकदेखि प्रतिष्ठानले दाबी गरेको रकम बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठान सञ्चालनमा समस्या आउने देखिएको अस्पतालका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए ।
बिमितको कागजपत्रसहित साप्ताहिकरूपमा प्रतिष्ठानले भुक्तानी दाबी गर्ने गरेको छ । प्रतिष्ठानले दाबी गरेको मूल्य बोर्डले रुजु गरेर भुक्तानी पाउने गरेको थियो । महिनामा ३ करोडभन्दा बढीको दाबी हुने गरेको छ । बिमाका कर्मचारीले प्रतिष्ठानले दाबी गरेको शोेधभर्ना रकमको मूल्यांकन नै नगरिदिँदा प्रतिष्ठानलाई दैनिक कार्य सञ्चालनका लागि समस्या भएको अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए ।
विक्रम संवत् २०७४ सालदेखि बिमा सुविधा दिँदै आएको प्रतिष्ठानलाई बोर्डले भुक्तानी गर्न २६ करोड रुपैयाँ देखिएको छ । गत कात्तिक २८ गतेयता कुनै दाबी स्वीकृत नगरेको साहले बताए । प्रतिष्ठान स्वशासित संस्था भएकाले कर्मचारी, चिकित्सक तथा पदाधिकारीका लागि प्रतिष्ठान आफैंले तलबभत्ता लगायतका सेवासुविधा उपलब्ध गराउँदै आएको छ ।
आन्तरिक आम्दानीले नै प्रतिष्ष्ठान चलाउनुपर्ने बाध्यता भएको प्रतिष्ठानको मुख्य आम्दानी भनेकै बिरामीको सेवाबाट हो । दैनिक प्रतिष्ठानमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिमाबाट आउने गरेका छन् । बिमा सुविधा हुनेलाई प्रतिष्ठानले ‘जिरोमा विलिङ’ गर्दै आएको छ ।
प्रतिष्ठानको आम्दानीको स्रोत नै बिमामा जोडिएपछि आर्थिक संकट उत्पन्न भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेल बताउँछन् ।