Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका व्यवसायीको मुटु जाँच

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरानका व्यवसायीको मुटु जाँच

धरानः परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक शनिबार सम्पन्न गरेको छ ।
कृषि बजार व्यवस्थापन समितिसँगको सहकार्यमा कृषि बजार, धरान–१३ मा आयोजित क्लिनिकमा ७७ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
अभियानका अध्यक्ष विष्णु बरालले आयोजित यस्तो क्लिनिक ज्यादै नै उपलब्धिमूलक रहेको बताए । बरालले भने, ‘बजारका व्यवसायीहरु दिनभर पसलमै बस्नुपर्ने र हिँडडुल र स्वास्थ्य जाँचमा समय दिन नभ्याउने हुनाले विशेषगरी आजको कार्यक्रम वहाँहरुको लागि ज्यादै नै उपलब्धिमूलक रह्यो ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण भएको क्लिनिकमा कृषि बजारका व्यवसायी लगायत धरान र धरानबाहिरबाट पनि बिरामीहरु आएका थिए । अभियानका सदस्य त्रिभुवन बरालको संयोजनमा सम्पन्न यो कार्यक्रम ९ औं संस्करणसम्म धरान मोडल कलेजमा आयोजना हुँदै आइरहेको थियो भने वडा वडामा आयोजना गर्ने अभियान अनुरुप यसअघि १८ नं. वडा कार्यालय, २ नं. वडा कार्यालय र धुलिखेल समाज धरान–१ मा आयोजना भइसकेको छ ।
विशेषगरी मुटुरोेग, उच्च रक्तचाप र मधुमेहको परिक्षण गरिने क्लिनिकका चिकित्सक डा. प्रशान्त शाहले विरामीहरुले हेलचेक्र्याइँ गर्ने र अप्ठ्यारो परिस्थितिमा मात्र उपचारका लागि अस्पताल जाने गरेको बताए । ‘बिरामीको अवस्था नाजुक भएपछि मात्र अस्पताल जाने गरेको, विशेषगरी व्यवसायमै व्यस्त भई हेलचेक्र्याइँ गरेको पाइयो, बेलाबेलामा स्वास्थ्य परीक्षण पनि गराउन अनुरोध गर्दछु’ डा. शाह भन्छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स निशा श्रेष्ठले ब्लडप्रेसर परीक्षण गर्नुका साथै आवश्यक सहयोग पनि गरेकी थिइन् । अभियानका अभियन्ताहरु वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, प्रशान्त अग्रवाल, विदुर थापा, विजय श्रेष्ठ, जेनिश शाक्य, निशान नेपाल, हेम ढकाल, चक्र खड्का, ऋषिराम भट्टराईको सक्रिय सहभागिता रहेको थियो ।
धरान उपमहानगरपालिकाका पूर्व मेयर एवम् कृषि बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मनोजकुमार मेन्याङ्बोले यो क्लिनिक आयोजना गरेकोमा सामाजिक अभियानलाई धन्यवाद प्रकट गरे । मेन्याङ्बोले भने, ‘युवाहरु मिलेर यस्तो कार्यक्रम आयोजना गरेकोमा परिवर्तनका लागि सामाजिक अभियानका अभियन्ताहरुलाई आभार प्रकट गर्न चाहन्छु साथै यस्तो प्रशंसनीय कार्यक्रमलाई निरन्तरता दिनका लागि उपमहानगरपालिकाले अपनत्व समेत ग्रहण गर्नुपर्छ ।’
कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले सञ्चालन गरेको समापन कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले डा. शाह एवम् आयोजक परिवर्तनका लागि सामाजिक अभियानप्रति धन्यवाद प्रकट गर्दै सोचेको भन्दा बढी बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको बताए ।
हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना गर्दै आईरहेको सो क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि मधुमेह, उच्च रक्तचाप र मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच हुदै आइरहेको छ ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend