विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव शनिबार बिहान मृत फेला परेका छन् ।
शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका उनी बिहान मृत फेला परेका हुन् । डाक्टर विजय मोरङको कटहरी–३ मा आयोजित स्वास्थ्य शिविरमा खटिएका थिए । शिविर सम्पन्न भएपछि राती साथीभाइसँगै खानपान गरेर डेरातिर लागेका उनी आफू बस्ने घरको गेटैमा बिहान मृत फेला परेका हुन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ का २७ वर्षीय यादव नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमा डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार आफू बस्ने कोठाबाट मुनिको भुइँमा घोप्टो परिरहेको अवस्थामा यादवको शव देखेपछि स्थानीयले बिहान ७ बजेतिर प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका हुन् ।
मृतक यादव विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए । डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता डीएसपी श्रेष्ठका अनुसार शव नजिक लाइटर र दुई वटा लेडिज जुत्ता रहेको छ । शव भेटिएको स्थानदेखि करिब एकसय मिटर पश्चिम नहर छेउ, नोबल हस्पिटलको गेटलगायतका विभिन्न स्थानमा पनि रगत देखिएको छ । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घरको दोस्रो तल्लाबाट हामफालेको हुनसक्ने प्रहरीको अनुमान छ । तर पनि यसबारेमा गहन अध्ययन थालिएको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको मृतकका आफन्तले प्रतिक्रिया दिएका छन् । मृतकका आफन्तहरूले नियोजित रूपमा हत्या भएको भन्दै घटनाको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन् ।
शनिबार राती डा.विजय यादव दुईजना साथीहरूसँग अवेर रातीसम्म होटलमा रमाइलो गरेको खुलेको छ । उनी र उनका साथीहरूसँग विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा राती ११ बजेसम्म बसेका थिए । डा.यादवसहित तीन जना साथीहरू अवेर रातीसम्म बसेर बियर खाएका थिए । तीन जनाले ६ वटा वियर खाएको बताएका छन् ।
उनी राम्रा, अनुभवी र दक्ष चिकित्सक रहेका थिए । उनले बङ्गलादेशबाट एमबीबीएस गरेर आएका थिए ।