धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजरन्सी वार्डको स्तरोन्नति गरेको जनाएको छ ।
इमरजेन्सीको स्तरोन्नति गरेर सेवालाई थप सुविधा सम्पन्न बनाइएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार इमरर्जेन्सीमा आउने बिरामीहरुलाई थप सुलभ र प्रभावकारी ढङ्गले उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरु वृद्धि गरिएको छ । बिरामीहरुको चापलाई मध्यनजर गर्दै २० थान बेड थपिएको छ भने १५ थान ट्रली थप गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।
इमरजेन्सीभित्रका आवश्यक स्थानहरुमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको उनले बताए । यो मेसिनले अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटर गर्ने काम गर्छ । यो मेसिनको जडानले बिरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी बिरामीको गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । यस्तै, सिकिस्त बिरामीहरुका लागि हाइफ्लो डिभाइस, डेफिब्रिलेटरगायत उपकरणहरु पनि थप गरिएको छ भने इमरजेन्सी क्रास कार्ड पनि थप गरिएको छ ।
यसैगरी, सिकिस्त भएपनि भेन्टिलेटरको आवश्यकता नपर्ने बिरामीहरुका लागि एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु पनि चाँडै जडान गरिने प्रतिष्ठानले जनाएको छ । आवश्यकताअनुसार भविष्यमा बेडको संख्यामा वृद्धि गरिने पनि प्रतिष्ठानले जनाएको छ । इमर्जेन्सी वार्डमा चिकित्सकहरुको कमी हुन नदिन चिकित्सकहरुको लागि विज्ञापन खोलिएको पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् ।
इमेर्जेन्सी ल्याबबाट दिइने सेवाहरुलाई अझ बढी दु्रत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको प्रतिष्ठानको दाबी छ । इमर्जेन्सीमा आउने बिरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरु इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएकोले बिरामीले परीक्षणका लागि प्रतिष्ठान बाहिर जानु नपर्ने सहप्रवक्ता डा.पोखरेलले बताए । बिरामीहरुलाई दबाब दिई वा विभिन्न प्रलोभन देखाइ प्रतिष्ठान बाहिर परीक्षण गर्न पठाइने गरेको पाइएमा जोसुकैलाई पनि प्रतिष्ठानले कडा कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

यस्तै, इमर्जेन्सीका बिरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण औषधिहरु पनि त्यहीको फार्मेसीबाट सहजै उपलब्ध हुने व्यवस्था पनि गरिएको प्रतिष्ठानले जनाएको छ भने इमर्जेन्सीमा सरसफाइमा विशेष ध्यान दिई सम्बन्धित कर्मचारीहरुलाई तदारुकताका साथ सरसफाईमा ध्यान निर्देशन दिइएको सहप्रवक्ता डा.पोरखेलले जानकारी दिए ।