Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका डाक्टरले सामाजिक काम गर्ने

हाम्रो कोशी आवाज
चैत्र २६ २०७८, शनिबार
धरानका डाक्टरले सामाजिक काम गर्ने

धरानः धरानमा सञ्चालनमा आएको सौय हेल्थ केयरले धरानलगायत सुनसरीमा कार्यरत् पत्रकारको मुटु, सुगर-प्रेसर परीक्षण गरेको छ ।
धरान-१८ (बीपी प्रतिष्ठानको पूर्वी गेटअगाडि) सौर्य हेल्थ केयर फाउन्डेसन प्रालिले नयाँ नयाँ कार्यक्रम ल्याएको हो । विगत ८ वर्षदेखि सेवा दिँदै आएको संस्थाले नयाँ कार्यक्रम ल्याएको हो । सधैं व्यस्त रहने धरानलगायत सुनसरीका पत्रकार शनिबार बिहानैदेखि आफ्नो स्वास्थ्य जाँच्न पुगेका थिए ।
नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा आयोजित निःशुल्क परीक्षण कार्यक्रममा पत्रकारले भिटामिन डी खोप लगाउनुका साथै सुगर तथा प्रेसर जाँच, ४५ वर्ष माथिकाले इसिजी सेवा पनि लिएका थिए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोवेल अस्पताल, बिर्तामोडस्थित मनमोहन हस्पिटलमा समेत कार्य अनुभव सङ्गालिसकेका डा. प्रमोद अग्रवालको टिमले सौर्य हेल्थ केयर सञ्चालित छ । उनी रेडियोलोजिष्टमा विज्ञ हुन् ।
‘पत्रकारहरु प्रायः अर्काको लागि मिहिनेत गरिरहेका हुन्छन्, हाम्रो लक्ष्य र सोंच पनि के हो भने जसलाई कसैले सोच्दैन, देख्दैन, बुझ्दैन उनीहरुका लागि सेवा गर्ने पनि हो’, उनले भने, ‘यसै कुरालाई मध्यनजर गरेर हामीले पत्रकारको निःशुल्क परीक्षण गरेर थालनी गरेका हौं ।’ उनले सबैसँग सहकार्य गरेर अघि बढ्ने आफूहरुको उद्देश्य रहेको बताए । उनले संस्थाले ‘प्रोजक्ट लाइफ’ नामक अभियानको पनि परिकल्पना गरेको उनले बताए ।
पत्रकारमाझ सौर्यले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वकांक्षी योजना पनि सार्वजनिक गरेको छ । घरबारविही सडक मानवलाई नियमितरुपमा प्राथमिक उपचार एवं स्वास्थ्य परीक्षण निःशुल्क, कुनै पनि निजी वा सरकारी, नाफामूलक वा गैर नाफामूलक संस्था वा समूहहरुले आफ्नो सदस्य, कर्मचारीका निम्ति स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको कार्यक्रमका लागि सौर्यसँग समन्वय गर्न चाहेमा आफूले सकेसम्म निःशुल्क रुपमा स्वास्थ्य लाभ गराउने, स्वास्थ्यमा समस्या वा कुनै रोग वा उपचारसम्बन्धी परामर्श चाहने व्यक्तिहरुका निम्ति विभिन्न माध्यमबाट स्वास्थ्य परामर्श दिएर सबैको स्वास्थ्य सल्लाहकार बन्ने योजना अघि सारिएको जनाइएको छ ।
यस्तै, सौर्यले समाजमा आफ्नो स्तरभन्दा माथि उठेर समाज र समुदायका लागि विभिन्न क्षेत्रबाट योगदान गर्दै आएका युवालाई प्रोत्साहनस्वरुप सौर्य युथ अवार्डद्वारा सम्मान गर्ने कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । कार्यक्रममा यस वर्षको सौर्य अवार्ड पनि घोषणा गरिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले कोरोना कालमा मिहिनेत गरेको भन्दै उनलाई सो अवार्ड दिने घोषणा गरिएको थियो । यस्तै, धरान–४ मा अनाथ आश्रम र वृद्धाश्रम खोल्न जग्गा प्रदान गर्ने कुशलजङ्घ घलेलाई पनि सो अवार्ड दिने घोषणा गरिएको थियो ।
सौर्यमा भिडियो एक्सरे, डिजिटल एक्सरे, कोलस्ट्रोल, कलेजको जाँच, मृगौलाको जाँच, सुगरको जाँच, सिबिसी, टिएफटी, भिटामिन डी टेष्ट, भिटामिन बि १२ टेष्ट, बेसिक होल बडी चेकअप, इसिजी, रगतमा सम्पूर्ण परीक्षण, दाँतको जाँच र उपचार, फिजिसियनद्वारा ओपिडी सेवा, हाडजोर्नी तथा नशासम्बन्धी समस्याको समाधान, शल्यक्रिया तथा उपचार, फिजियोथेरापी, कान नसुन्नेहरुको लागि परीक्षण, गर्भपतन सेवा आदि उपलब्ध हुने जनाइएको छ । ५ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिका बिरामीहरु तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई विशेष छुटको व्यवस्था गरिएको डा. अग्रवाल बताउँछन् ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतका पत्रकारले महत्वकांक्षी योजनाबारे सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: चैत्र २६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend