उर्लाबारीः नेपाल आइस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् ।
सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भीषण राईले सोधेको प्रश्नको उत्तरमा आगामी स्थानीय निर्वाचनमा महिला सशक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाव दिनुपर्छ भन्ने सटिक उत्तर दिँदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज पहिरिएकी हुन् ।
उनले उपाधिसँगै नगद ५० हजार तथा ट्रफी प्राप्त गरिन् । त्यस्तै, उर्लाबारीकी ज्वाला लिम्बू फस्ट रनरअप भइन् भने सेकेन्ड रनरअप उर्लाबारीकी अंकिता कटवाल भइन् । उनीहरुले क्रमशः नगद ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे । ज्वालाले पब्लिक च्वाइस अवार्डको टाइटल समेत हात पारिन् ।
त्यस्तै कुमकुम चौधरीले मिस पर्सनालिटी र एथलेटको टाइटल जितिन् भने अंकिता कटुवाल मिस ट्यालेन्ट, नलिना कट्टेल मिस डिसिप्लिन, निशा धिमाल बेस्ट क्याटवाक, सोफिया लिम्बू मिस फ्रेन्डसीप र अविशा लिम्बूले मिस फोटोजेनिकको टाइटल जितिन् । मिस उर्लाबारी २०२२ मा १७ जना युवतीहरुले प्रतिस्पर्धा गरका थिए । स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारी आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए ।
सविना पोद्दारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको मुख्य निर्णायकमा सञ्चारकर्मी तथा चलचित्र निर्देशक भीषण राई र अन्य निर्णायकहरुमा सञ्चारकर्मी तथा मोटिभेशनल स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुशा बस्नेत, मिस लिम्बू २०१७ कि फस्ट रनरअप सन्ध्या तुम्बाहाम्फे, प्राचार्य ज्ञानेन्द्र सुनार र गायक निमा तामाङ रहेका थिए । निर्णायक तथा गायक निमा तामाङ्ले आफ्ना केही गीतहरु समेत गाएका थिए ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताका बिजेता तथा उपविजेताले धरानमा आयोजना हुने मिस पूर्वाञ्चलमा सिधै प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा भएको नेपाल आइस मिस उर्लाबारी २०२२ उर्लाबारी नगरपालिकाको विशेष सहयोग र सिजी ब्रुअरीको मुख्य प्रायोजन र प्रिन्सेस वाइनलगायत स्थानीय व्यवसायीहरुको प्रायोजनमा सम्पन्न भएको थियो ।
यसअघि सन २०१३ मा नेमिता आङबुहाङ र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् भने नेमिता आङबुहाङले मिस पूर्वाञ्चलको ताज पनि जितेकी थिइन् ।


