धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्दै आएका एक छात्र मानवको टाउको, हड्डीलगायतका सामग्रीसहित पक्राउ परेका थिए तर अहिले उनी रिहा भएका छन् ।
पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हा रिहा भएका हुन् । उनी बुधबार रिहा भएका हुन् । प्रतिष्ठानले बुधबार प्रहरीलाई पत्र पठाउँदै सिन्हा प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षका विद्यार्थी भएको र उनले अध्ययन प्रयोजनाका लागि ती सामग्री बोकेर हिँडेको भन्दै रिहाइका लागि अनुरोध गरेपछि उनी छुटेका हुन् ।
एमबीबीएस अध्ययनरत् ती विद्यार्थी रानी नाकाबाट पक्राउ परेका थिए । उनी रिहा भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले जानकारी दिए ।
रिक्सामा विभिन्न सामग्रीका साथै एउटा कार्टुनसहित भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेको उनले जानकारी दिए । कार्टुनबाट मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८–८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १–१ वटा हड्डी बरामद भएको थियो । उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो । अधिकांशले डाक्टरले यस्ता सामग्री प्रयोग गर्न पाउनुपर्ने आवाज समेत उठेको थियो ।