धरानः परिवर्तनका लागि सामाजिक अभियानको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृति मावि धरानमा सम्पन्न भएको छ ।
३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न सो क्लिनिकमा ६५ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य जाँच गराएका थिए । मुटु, मधुमेह र रक्तचापको परीक्षण गरिने सो कार्यक्रम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहको सहकार्यमा भएको हो ।
स्वास्थ्य जाँच गर्दाको क्रममा बिरामीहरुले अस्पताल जान र्हलचेक्र्याइँ गर्नु र खानपानमा ध्यान नदिने समस्या बढी पाइएको डा. शाहले बताए । ‘बिरामी बढ्नुको प्रमुख कारण खानपानमा ध्यान नदिनु र नजिकैको औषधि पसलेको सुझावले औषधि खाने गरेको पाइयो’, डा. शाहले बताए ।

परिवर्तनका लागि सामाजिक अभियानको यो क्लिनिक १४ औं संस्करणमा सम्पन्न भएको छ । शुरुवातदेखि ९ औं संस्करण सम्म धरान मोडल कलेजमा आयोजित यो कार्यक्रम वडावडामा आयोजना गर्ने लक्ष्य अनुरुप वडा नं. १८, वडा नं. २, वडा नं. १ र वडा नं. १३ मा आयोजना भइसकेको छ ।
विशेषगरी ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकको लागि आयोजित यो कार्यक्रम समुदायमा निकै नै प्रभावकारी भएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । ‘वृद्ध बुबाआमाहरुलाई सहज होस् भनेर यो कार्यक्रम आयोजना गरेका हौं, वहाँहरुलाई सहजता प्राप्त हुँदा हामीलाई आत्मसन्तुष्टि मिल्छ’, बरालले भने ।
अभियानका अभियानकर्मी मोहन श्रेष्ठ, विदुर थापा, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाल, हेम ढकाल, विजय श्रेष्ठको सहभागिता रहेको कार्यक्रममा ६ नं. वडा कार्यालयकी स्टाफ नर्स चेतना परियारले रक्तचाप परीक्षण लगायतका विविध कार्यका सहयोग गरेकी थिइन् ।
समुदायमा निकै नै प्रभावकारी रहेको यसप्रकारको कार्यक्रम निरन्तररुपमा आयोजना हुनुपर्ने स्थानीय मनिष खड्गीले बताएका थिए । वडा नं. ३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठले आयोजक संस्था, परिवर्तनका लागि सामाजिक अभियान एवम् डा. प्रशान्त शाहलाई धन्यवाद प्रकट गरेका थिए ।
