धरानः बैशाख ८ देखि १६ गतेसम्म धरानमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । धरानमा ४४ हजार बढीलाई यस्तो खोप लगाउन लागिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा ४४ हजार ७ सय ठ जनालाई सो खोप लगाउन लागिएको हो ।
मङ्गलबार धरान–१२ स्थित होटल स्टार पूर्वीमा आयोजित कार्यक्रममा उनले खोपबाट बचाउन सकिने रोगहरूलाई शुन्यमा झार्ने नेपाल सरकारको लक्ष्यअनुसार धरानमा पनि टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले भने, ‘टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।’
उनका अनुसार खोप लगाएर टाइफाइड नहुने र टाइफाइड भइहाले आन्द्रामा प्वाँल पर्ने, क्यान्सर हुने, मस्तिष्कमा असर गर्ने, प्यारालाइसिस समेत हुनसक्छ ।
उनका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिनेछ । यस्तै, अभियानको क्रममा टाइफाइड प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ ।
यो रोगको सङ्क्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि भएको उनको भनाइ छ । पछिल्लो समय एन्टिबायोटिकले समेत कम गर्न छोडेको भन्दै यो खोपले टाइफाइडविरुद्ध लड्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘विगतमा टाइफाइड हुँदा दिइने एन्टिबायोटिकले अहिले काम गर्न छोडिसक्यो । नयाँ नयाँ एन्टिबायोटिक दिनुपर्ने अवस्था छ । खोपले गर्दा धेरै सुरक्षित हुनेछ ।’ उनी भन्छन् ।
खोप लगाएपछि कस्ता लक्षण देखिन्छन् ?
खोप लगाइसकेपछि सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने र यस्ता सामान्य लक्षणहरु बिस्तारै आफैं ठीक भएर जाने उनको भनाइ छ ।
सरकारी तथ्याङ्कमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । तीन वर्षको तथ्याङ्कअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । तस्वीरः लक्ष्मण थापा
