Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा देशभरका चिकित्साशास्त्रका विशेषज्ञहरुको भेला

हाम्रो कोशी आवाज
बैशाख ११ २०७९, आइतबार
धरानको बीपी प्रतिष्ठानमा देशभरका चिकित्साशास्त्रका विशेषज्ञहरुको भेला

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रियस्तरको मेडिसिन अध्यावधिक मेडिसिन अपडेट सम्पन्न भएको छ ।
कार्यक्रममा देशभरीबाट चिकित्साशास्त्रका विभिन्न विधाका विशेषज्ञहरु भेला भई हर्मोन रोग, अर्बुद रोग, मृगौला रोग, पेट सम्बन्धी रोग, मुटुरोग, रगतसम्बन्धी रोग, बाथ रोग र फोक्सो सम्बन्धि रोगहरुका बारेमा अध्यावधिक गराइएको थियो ।
‘दीर्घकालीन गैर सञ्चारित रोग, रोकथाम, प्रारम्भिक निदान वा रोगमुक्ति, नेपालले कहाँ मुख्य भूमिका खेल्नुपर्छ’ भन्ने नारा रहेको कार्यक्रममा प्रतिष्ठान तथा देशभरिका डाक्टर, नर्स र स्वास्थ्यक्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरु गरी ३०० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमका कार्यकारी सचिव तथा इन्टर्नल मेडिसिन विभागका बाथरोग विज्ञ डा. विवेक कट्टेलले जानकारी दिए ।
करिब दुई दशकपछि दोस्रोपटक गत बैशाख ९ र १० गते अध्यावधिक प्रतिष्ठानको मेडिसिन विभागको आयोजनामा कार्यक्रम भएको सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

नेपालजस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्डअनुसार नसर्ने किसिमका दीर्घकालिन रोगहरुको उपचार पद्दतिको निर्देशिका पनि तयार भई त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्य कार्यक्रम आयोजना भएको हो । पहिलोपटक पनि सन् २००३ मा सो कार्यक्रम प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले नै आयोजना गरेको थियो ।
कार्यक्रमका सल्लाहाकार प्रा.डा. नरेन्द्र भट्टका अनुसार यस्ता किसिमका अपडेट कार्यक्रमहरुले चिकित्सकीय क्षेत्रमा प्रतिपादन हुने नया नयाँ सिद्धान्तहरुलाई क्लिनिकल प्राक्टिसमा कार्यन्वयन गराउन गहन भूमिका खेल्छ ।
नेपालमा सरुवा रोगले भन्दा नसर्ने रोगबाट मृत्यु हुने बिरामीको संख्या अत्याधिक बढिरहेको इन्टर्नल मेडिसिन विभागका प्राध्यापक तथा कार्यक्रमका कन्भेनर डा. सञ्जीवकुमार शर्माले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख तथा हर्मोन रोग विज्ञ डा. रबिन मास्केले नसर्ने रोग अब विकसित देशको मात्र नभई विकासन्मुख देशको पनि समस्या भएको बताए ।
राज्यले यस्ता रोगको रोकथामका लागि समय र स्थान सापेक्ष नीति निर्माण गरी सो को यथोचित कार्यान्वयन गराउनुपर्नेमा उनले जोड दिए । राज्यले केन्द्र र प्रदेशस्तरीय अस्पताल र स्वास्थ्य संस्थाहरुमा सो रोगको जटिलता भएका बिरामीहरुलाई प्रत्यक्षरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रावधान मिलाउनुपर्ने उनले बताए । त्यस्तै, पालिका, जिल्ला र प्रदेशस्तरीय स्वास्थ्य संस्थाहरुमा चाँडोभन्दा चाडो निदान गर्ने प्रणाली विकसित गनुपर्ने उनले बताए । ‘केन्द्रीय सरकारको मातहतमा रहेका मेडिकल कलेजहरुमा सो सम्बन्धीको नयां प्रविधि, ज्ञान, खोजका लागि सरकारले आवश्यक कदम चाल्नुपर्दछ ।’ उनले भने ।

प्रकाशित मिति: बैशाख ११ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend