धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डाइलाइसिस मेसिन र बेडहरु थप गरिएको छ ।
८ वटा वेडमा सञ्चालित इन्टर्नल मेडिसिन विभागअन्तर्गतको डाइलाइसिस युनिटलाई विस्तारित गरी हाल २० बेडको बनाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । थप गरिएको १२ वटा नयाँ बेडहरुलाई क्याथ ल्याबको अगाडिपट्टि नयाँ भवन निर्माण गरी छुट्टै डाइलाइसिस युनिट स्थापना गरिएको छ ।
अस्पताल निर्देशक, डीन, विभागीय प्रमुख, चिकित्सक, विद्यार्थीलगायतको उपस्थितिमा उपकूलपति डा. ज्ञानेन्द्र गिरीले रिवन काटेर नयाँ यूनिटको विधिवतरुपमा उद्घाटन गरेका छन् । ‘यस भेगमा बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस युनिटले थप मद्दत मिल्ने तथा यस किसिमको सेवा विस्तारमा यस युनिटले कोसेढुंगाको काम गरेको छ ।’ उद्घाटनको क्रममा उपकुलपति गिरीले भने ।

पहिले सञ्चालनमा रहेको डाइलाइसिस वार्डमा हालको आइसियूलाई वेड संख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको छ । प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डाइलाइसिस हुने गरेको छ । जम्मा ८ वटा मेसिनले यति धेरै संख्यामा डाइलाइसिस गर्नु ज्यादै नै कठिनाइको विषय थियो । सँगसँगै डाइलाइसिस गर्न पालो नपाएर पर्खनेको संख्या पनि ५० भन्दा ज्यादा हुने गरेको छ । यस्तो परिस्थितीलाई थप जडान गरिएको नया मेसिनले केहि हदसम्म सहज बनाउने विश्वास गरिएको छ ।
सन् १९९९ मा तात्कालिन उपकूलपति डा. शेखर कोइरालाको कार्यकालमा प्रा.डा. ओपी काल्राको पहलमा मेडिसिन विभागका डा. सञ्जीवकुमार शर्मालगायत नर्सहरु बेङमु तामाङ, शोभा गुरुङ र पुनम काफ्लेलाई वीर अस्पताल, काठमाडौमा २ महिने डाइलाइसिसको तालिममा पठाइएको थियो ।

उनीहरुको तालिम पश्चात उपत्यकाभन्दा बाहिर पहिलोपटक प्रतिष्ठानमा दुईवटा वेडबाट डाइलाइसिस सेवा शुरु गरिएको थियो । सो २ बेडले धान्न गाह्रो भएपश्चात् बिरामी आफैले घरमै पनि गर्नसक्ने पेटबाट गर्ने विधिको नेपालमै पहिलोपटक सफलतापूर्वक शुरुवात गरेको डा. शर्माले बताए ।
हाल जडान भएका डाइलाइसिस मेसिनहरु प्राविधिक रुपले उन्नत रहेका, बिरामीहरुलाई सहज हुने प्रकारका, सञ्चालन गर्न सरल किसिमका भएको बारे इन्टर्नल मेडिसिन विभागका प्रमुख डा. रविन मास्केले जानकारी दिए । मृगौला बिरामीहरुलाई अझ बढी सेवा दिन सकिने भएको हुँदा आफूलाई खुशी लागेको पनि उनले बताए ।