Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-९ मा जसले गरिब, सुत्केरीलाई पोषण निम्ति १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे

हाम्रो कोशी आवाज
बैशाख २२ २०७९, बिहिबार
धरान-९ मा जसले गरिब, सुत्केरीलाई पोषण निम्ति १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे

धरानः वैशाख ३० गते हुने चुनावमा धरानका वडाध्यक्षका उम्मेदवारहरुको सुत्केरी महिला, शिशुको हितका कार्यक्रम अघि सारेको पाइएको छैन । नेपालमा कुपोषणका कारण मातृशिशुको मृत्युदर उच्च छ । गरिब परिवारका महिलाले सुत्केरी अघि र पछि हुँदा पोषणयुक्त खाना नपाउँदा मृत्युदर बढेको हो ।
धरान वडा नं. ९ का उम्मेदवार रुपेश आचार्य यसमा ध्यानाकर्षण गर्ने पहिलो वडाध्यक्षका प्रत्यासी बनेका छन । वडामा मानवीय सशक्तिकरणका लागि उनले निम्न आर्थिक अवस्था भएका गर्भवती महिलाहरु पहिचान गरी घरमै पोषणयुक्त खाना पुरयाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यति मात्र नभएर गरिब महिला सुत्केरी भएको अवस्थामा आमा र बच्चा दुवैलाई बचाउन पोषणयुक्त खाना खर्चका लागि १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गरिने आचार्यले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । निम्न आर्थिक अवस्था भएका परिवारका मातृशिशुको जीवन बचाउने यो प्रतिबद्धता उदाहरणीय हो ।
प्रत्याशी आचार्यले वडाको आधुनिकीकरणका साथै ज्येष्ठ नागरिक, युवा, बालाबालिका महिलाहरुका हितका लागि २३ सुत्रिय वडाको नीति तथा कार्यक्रम रहने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । २०७४ को वडाको चुनावमै जीतको नजिक पुगेको आचार्य केवल ४८ भोटले पछि परेका थिए । त्यसैले वडाका मतदाताहरुले अहिले भन्न थालेका ‘अब पालो रुपेश आचार्यको ।’
विद्यार्थी राजनीतिदेखि वडाको राजनीतिमा आएका उनी वडा ९ मा परिचित युवा नेतृत्व हुन् । पदमा नरहँदा पनि सामाजीक सेवाको कार्यमा सक्रिय आचार्यले कोरोना महामारीमा वडा कार्यालयलाई ठूलो सहयोग पुरयाएका थिए । आचार्यले राहतका लागि जुटाएका खाद्यान्न, दैनिक उपभोग्य सामाग्रीदेखि औषधिहरु वडा कार्यालयमार्फत् वितरण गरिएको थियो । उपमहानगरपालिकाको फुड बैंकमा वडाबाट छुट्टै सहयोग पनि जुटाएका थिए ।
सामाजिक, धार्मिक गतिविधिमा सक्रिय आचार्य रेडक्रस सोसाइटी, कृष्ण प्रणामी मन्दिरमा अहिले पनि संलग्न छन् । विद्यार्थी राजनीतिकालमा नेविसंघका जिल्ला सदस्य रहेका उनि राजनीतिलाई समाजसेवाको रुपमा अंगीकार गरेर काम गर्ने हो भने मात्र भ्रष्टाचार न्युनीकरण हुने बताउँछन् । आचार्य भन्छन् ‘राजनीतिकै लागि राजनीति गर्नेहरुका कारण जनताले दुःख पाइरहेका छन् ।’
उनको प्रतिबद्धतापत्र अनुसार धरानको खानेपानी समस्याबाट वडा ९ संकटका अवस्थामा रहेकाले वडामा खानेपानी वितरण समान र सहज बनाइने छ । स्वास्थ्य सेवाका लागि वडामै स्वास्थ्य चौकी स्थापना गरिने छ । बजार क्षेत्रको रुपमा विकास भएको वडा ९ लाई आधुनिकीकरण गर्न सडक बत्तिहरुमा भ्यापर लाइट जडान गरिने छ । बालबालिकाका लागि बाल उद्यान निर्माण गरिने छ । युवाहरुका लागि सञ्चालनमा रहेका खेलकुद भवनलाई स्तरोन्नति गरिने छ ।
वडाका गरिब जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न कक्षा–१२ सम्मको शिक्षा वडा कार्यालयले जिम्मा लिनेछ । जेष्ठ नागरिक, गरिब, एकल महिला, अपाङग वडाबासीलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिने छ । वडा कार्यालयका कार्यहरुलाई पारदर्शी बनाइने आचार्यको प्रतिबद्धता उल्लेखनीय छन् ।

प्रकाशित मिति: बैशाख २२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend