Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वकी एन्जिला तुम्बापो सुब्बाको बढ्दो शान

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
पूर्वकी एन्जिला तुम्बापो सुब्बाको बढ्दो शान

धरानः पूर्वमा जन्मिएर नेपालको ‘नम्बर वान’ गोलकिपर बनेकी एन्जिला तुम्बापो सुब्बाको उचाइँ अहिले थप बढ्नेवाला छ । नबढोस् पनि कसरी । नेपालकी नम्बर वान गोलकिपर भनेर चर्चित उनको अहिले बायोपिक चलचित्र नै बन्न लागेको छ । चलचित्रमा हेर्न सकिन्छ सधैं चर्चामा रहिरहने पूर्वबाट उदाएका, अर्गानिक भूमिका निभाउने चर्चित कलाकार दयाहाङ राईसहित अन्य नाम चलेका सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ (हैट), पूर्व एसएसपी प्रेमकुमार श्रेष्ठलगायतको अभिनय ।
एन्जिला तुम्बापो सुब्बाले नेपाली राष्ट्रिय महिला टिमको गोलपोस्ट सम्हालेको लगभग ६ वर्ष बढी भयो । धरानमा आइपुगेकी उनले भनिन्, ‘राष्ट्रिय टिमबाट झन्डै तीन दर्जन बढी खेल खेलिसकेकी छु, खेल जित्नु नै मेरो जीवन भयो ।’
पाँचथरमा जन्मिएर इलामको सूर्योदय नगरपालिमा हुर्किएकी उनले जीवन सङ्घर्ष भने निकै लामो छ । १२ वर्षको उमेरदेखि खेल्न थालेकी उनले राष्ट्रिय टिममा २०१५ देखि सहभागिता जनाउन थालिन् । सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यु गरेकी उनले भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् । उनी अहिले साष्ट्रिय महिला टिमको गोलकिपर साथै उपकप्तान समेत छिन् ।
सानैदेखि फुटबल खेल्ने भूत चढेको बताउने उनले अहिले नेपालकी नम्बर ‘वान’ गोलकिपर एन्जिला भनिदिँदा खुब खुशी लाग्ने गरेको बताइन् । ‘सानैदेखि नै फुटबलमै भूत चढेको थियो’, उनले भनिन्, ‘अहिले पनि म फुटबलमै निरन्तर छु र सफलता पनि हात पारिरहेको छु ।’
एफिएफ क्लबमा आवद्ध उनले अहिले एशियन खेलको तयारीमा जुटेकी छिन् । यस्तै, लिगको पनि तयारीमा आफू जुटेको बताइन् । ‘एशियन तथा लिगको तयारीमा जुटेकी छु’, उनले भनिन् । उनले आफूले राष्ट्रको प्रतिष्ठाका लागि खेलिरहेको बताइन् ।
स्थानीय, जिल्ला र क्षेत्रीयस्तरको प्रतियोगितामा उनको टिमले जित्दै चमत्कार गर्न थालिन् । क्षेत्रस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट छनोट भयो । छनोटमार्फत् उनले इलामको नम्बर एक गोलकिपर भएर खेलिन् । पूर्वाञ्चल विकास क्षेत्रस्तरीय प्रतियोगितामा इलाम पहिलो भयो । २०६८, फागुनमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानियो । ‘१३ वर्षकै उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पाउनु गौरवको कुरा थियो’, उनले भनिन्, ‘त्यहीँदेखि मेरो करिअरको शुरुवात भएको हो ।’
१३ वर्षीया उनले धनगढीमा भएको खेलमा अझ चमत्कार देखाइन् । त्यतिबेलै उनले एफिएमबाट खेल्ने मौका उनले पाइन् । एपीएफका टिम व्यवस्थापक प्रेम श्रेष्ठले एन्जिलालाई क्लबमा राख्न भनेर लगेका थिए ।
‘कक्षा–७ सम्म सरकारी स्कुल पढेकी एन्जिलाले पढाइ लगभग छोडिसकेकी थिइन्’, सशस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहेका प्रेम भन्छन्, ‘कक्षा–८ देखि काठमाडौंको स्वयम्भुस्थित अरुणोदय माविमा उनको पठनपाठन अघि बढ्यो र अहिले उनले ‘ब्यालर्स लेवल’ सकिसकेकी छिन् ।’
प्रेम एन्जिलाको टिम व्यवस्थापक मात्र बनेनन्, जीवनको पथ प्रदर्शकसमेत बनेका छन् । धरानमा आइपुगेकी उनले समेत भनिन्, ‘उहाँले फुटबलमात्र सिकाउनुभएन, जीवन बुझाउनुभयो । उहाँको परिवारबाटै हौसला, प्रेरणा पाएँ र सफलता हात पारिरहेकी छु, उहाँलाई म गडफादर मान्छु ।’
२०६९ सालमा काठमाडौं छिरेकी उनले अहिले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरसम्म पनि राम्रो खेल कौशल देखाएर सबैलाई ताली पिट्ने बनाइसकेकी छिन् । उनी १६ वर्षको उमेरमै एफिएमबाट सिनियर गोलकिपर बन्न सफल भएकी थिइन् ।
एपिएफको पहिलो रोजाइको गोलकिपर बनेपछि २०१६ मा भारतमा भएको महिला साफ च्याम्पियनसीपमा भाग लिएकी उनले निरन्तर राष्ट्रिय टिमको गोलपोस्टको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी उनले भारतमा भएको सो च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् ।

अबको लक्ष्य
लगभग १२ वर्षको उमेरबाट फुटबल खेल्न थालेकी एन्जिलाले एक दशकभन्दा बढी समय यसमा बिताइसकेकी छिन् । एन्जिलालाई खुब नाम कमाउने, आपूmले रोजेको क्षेत्रमा उत्तिकै सफल हुने इख थियो, कसलाई यस्तो देखाउनु थियो, अहिले त्यो पूरा भएको छ । फुटबल खेलेर नै उनको परिवारको समाज, टोल छिमेकमा इज्जत र शान बढेको छ ।
‘बिजेता बनेका छौंं’, उनले भनिन्, ‘एकपटक भारतलाई हराएका थियौं, फेरि भारतलाई हराउने र स्वर्ण जित्ने लक्ष्य छँदैछ, जबसम्म यस्तो गर्न सकिन्नँ, केही गरेको जस्तो लाग्दैन ।’ उनले राष्ट्रलाई गोल्ड मेडल दिलाउने लक्ष्यका साथ आफू लागेको बताइन् । ‘यु–१४ मा मैले एक गोल पनि नखाइ गोल्डमेडल जित्न सफल भएको थिएँ, अहिलेसम्म सातवटा देशमा सिल्भर मेडल जिताइसकेको छु’, उनले भनिन्, ‘अब साफ गेममा गोल्डमेडल ल्याएर राष्ट्रलाई योगदान गर्न लाग्नेछु ।’
चलचित्र बन्ने
जो खेलकुदमा निरन्तर डटिरहिन्, खटिरहिन् तर सङ्घर्षका साथ । उनीसँग जोडिएको फुटबलको सङ्घर्ष र सफलताको कथा पनि छ । त्यही कथाव्यथा, बेदना र भावनालाई समेटेर फिल्म नै बन्ने भएको छ । उनको जीवनीमा आधारित बायोपिक चलचित्र बन्न लागेको हो । एन्जिलाले १३ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरिन् । स्कुलका दिनहरु फुटबल खेल्दै बिते । धेरै मोजाका बलहरु फाँटे । एक समय भीरमा बल लिन जाँदा उनले खुट्टा समेत भाँचेको कहानी उनीसँग छ ।
उनकै यस्तै जीवनमा आधारित चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला नै मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ (हैट), पूर्व एसएसपी प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहनेछ ।
एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई चलचित्रमा देखाइने प्रेमले जानकारी दिए । ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई चलचित्रमा देखाउनेछौं । सफल खेलाडी बन्नुअगाडि एन्जिलाले गरेका दुःखहरू धेरै छन्, त्यसलाई चलचित्रमा विशेष जोड दिनेछौं,’ उनले भने । फिल्ममा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइने जनाइएको छ । एन्जिलाले आफ्नो खेल जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता प्रेरणादायिक रहेकाले फिल्म बनाउने लागेको उनी बताउँछन् ।
आफ्नो जीवनीमा चलचित्र बन्नु आफ्ना लागि ठूलो उपलब्धि रहेको एन्जिलाको बुझाइ छ । ०५३ मा पाँचथरको फाक्तेपमा जन्मिएकी एन्जिलाले एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् ।
जसले गर्व गरिरहेका छन्
प्रेम भन्छन्, ‘उनी अहिले नेशनल प्लेयर मात्रै होइनन्, ‘रेकर्डेड नेशनल प्लेयर’ पनि हुन् । उनी अहिले महिला फुटबलमा महिला फुटबलमा गोल्डमेडल ल्याउने एक मात्र हुन् । उनका अनुसार एन्जिलाले अहिलेसम्म एसियन, ओलम्पिक, साफ गेम खेलिसकेकी छिन् ।
प्रेमले अन्त्यमा भने, ‘जे होस्, एन्जिलालाई देशका लागि खेलेर पाएको इज्जतले ठूलो खुशी दिएको छ । गौरव महसुस भएको छ, देशको गोलपोस्ट समाल्न पाउँदा गर्वले छाती चौडा हुन्छ । कहिलेकाहीँ लाग्छ, मैले पनि सोंचेभन्दा धेरै नै पाएँ ।’
धरानमा सम्मान
उनलाई धरानमा सम्मान गरिएको छ । युएन, नवोदय कलेजले उनलाई सम्मान गरेको छ । विद्यार्थीलाई पनि प्रेरणा मिलोस् भनेर उनलाई सम्मान गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । धरान आएको बेला सम्मान गरिएको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष ज्ञानेश्वर झाले रेकर्डेड महिला प्लेयरलाई सम्मान गर्दा विद्यार्थीले पनि प्रेरणा लिन सकेको बताए ।
‘रेकर्डेड महिला प्लेयरलाई सम्मान गर्न पाउँदा गर्व लागेको छ’, उनले भने, ‘यसले यहाँका विद्यार्थीलाई पनि थप प्रेरणा मिलेको छ ।’ कार्यक्रममा कलेजका प्रमुख तुम्बापो, अध्यक्ष ज्ञानेश्वर झालगायतले उनलाई सम्मान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend