विराटनगरः विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चारवटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् ।
डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधारणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउने व्यवस्था मिलाइदिएका हुन् ।
शनिबार बाहेक हरेकदिन नोवेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने गर्छ । बिरामीहरुलाई टोल–टोलमा भेला गरी डाक्टरहरुले उपचार गर्ने गरेका छन् । उपचारबापत बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । डा.शर्माले नै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन् । गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस् भनेर गाउँमै उपचारको व्यवस्था मिलाइदिएको डा.शर्मा बताउँछन् । उनी भन्छन्, ‘म यही क्षेत्रको मान्छे हुँ, कतिपय मान्छेले पैसा नभएर रोग पालेर बसिरहेका हुन्छन्, आफ्नो ठाउँका मान्छेलाई आफूले सकेको सहयोग गरौं भनेर टोल–टोलमै डाक्टर पठाएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ ।’
बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्र अर्थात मोरङ क्षेत्र नं.३ बाट चुनाव भिडेका थिए, पराजित भए । तरपनि उनी त्यो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । उनले केही बर्ष अघिदेखि नै टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । तर, कोरोनाको महामारीका कारण यो अभियान रोकिएको थियो । अहिले पुनः सेवा सुरु गरिएको हो ।

डा.शर्माको योजनाअनुरुप नोबेलका बिशेषज्ञ डाक्टरसहितको टोली एम्बुलेन्स लिएर टोल–टोल पुग्ने गरेका छन् । उनीहरुले भिडियो एक्सरे, इसीजी, ल्याब टेष्टसहितको सेवा त्यही प्रदान गर्छन् । सामान्य बिरामीहरुलाई गाउँमै उपचार गरिन्छ । गम्भीर अवस्थामा विरामीलाई आफ्नै एम्बुलेन्समा राखेर नोबेल अस्पताल ल्याई उपचार गर्ने गरिएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताए । डा.शर्माले गरिब, विपन्न र असहायहरुलाई अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।
गाउँघरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार सेवा पाउँदा सो क्षेत्रका सर्वसाधरण हर्षित छन् । उनीहरुले डा.शर्माको सेवा भावको प्रशंसा गर्ने गरेका छन् । समाजसेवाका क्षेत्र उदाहरणीय व्यक्तिको पहिचान बनाएका डा.शर्माले यसअघि पनि सयौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराइसकेका छन् ।