धरानस्थित बीपी प्रतिष्ठाननजिकै धर्नामा बसेका युवापुस्ता । तस्वीरः फेसबुक
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ताका लागि वार्ता टोली गठन गरिएको छ ।
घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि वार्ता टोली गठन गरिएको अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनले उपकुलपतिको निर्देशनमा वार्ताको लागि ५ सदस्यीय वार्ता टोली गठन भएको र वार्तामा आउन आह्वान गरेका छन् । उनले ‘सेभ घोपा क्याम्प’ अभियानलाई पनि पाँचजनाको वार्ता टोली गठन गरेर आउन आह्वान गरेका छन् ।
‘आन्दोलनमा संलग्नहरुलाई सौहाद्र्रपूर्ण वार्तामा आई छलफल गर्न आव्हान गर्दै वार्ता टोलीका संयोजक तथा अस्पताल निर्देशकज्यूले पत्राचार गर्नुभएको छ ।’ विज्ञप्तिमा भनिएको छ’, प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उता घोपा बचाउ अभियानका संयोजक सुदन गुरुङले उपकुलपति नै नभएको र वार्ताको औचित्य नभएको प्रष्ट्याएका छन् । उनले उपकुलपतिसहितको पदाधिकारीसँग मात्रै वार्ता हुने बताएका छन् ।
‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर धरानमा दिनहुँजसो धर्ना कार्यक्रम भइरहेको छ । लगभग दुई महिनादेखि यस्तो अभियान जारी छ । उनीहरु प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बस्ने गरेका छन् ।
जिन्दगीसँग खेलबाड गर्न पाइँदैन भ्रष्ट प्रशासन चाहिदैन’, हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर उनीहरुको धर्ना आजसम्म पनि जारी छ । हरेक दिन अपराहन ४ देखि ६ बजेसम्म धर्ना दिन तीन सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला हुने गरेका छन् ।
बीपीमा जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ । वर्षौंदेखि यस्तो समस्या झेलिरहेको धरानबासी आफैं जागरुक भएर धर्नामा उत्रिएका भने होइनन् । धराने युवाहरुलाई जागरुक बनाउनको लागि काठमाडौंबाट ‘हामी नेपाल’ को टोली आएपछि आन्दोलन उष्कर्षमा पुग्दै गएको हो ।
‘हामी नेपाल’ले विभिन्न चार बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो मागमा अस्पतालको एमआरआई मेसिन बनाउनुपर्ने, भिडियो एक्सरेको सुविधा दिनुपर्ने लगायतका तत्काल कार्यन्वयन गर्न सकिने विषय छन् ।
