धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदहरुमा विभिन्न व्यक्तिलाई नियुक्त गरिएको छ ।
उपकूलपतिले नै उनीहरुलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन प्रवक्तामा एनेस्थेसियोलोजी विभागकी प्रा.डा.कृष्णा पोखरेललाई नियुक्त गरिएको छ ।
यस्तै, अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउन एकजना डेपुटी अस्पताल निर्देशक तथा दुईजना सहायक अस्पताल निर्देशकको कार्यभार सुम्पिइएको जनाइएको छ । डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा.जगत नारायणप्रसादलाई कार्यभार सुम्पिइएको छ भने अस्पताल सेवा अन्तर्गत वार्डहरु, ओटी र इमर्जेन्सी सेवाहरुको रेखदेख, सुपरीवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित सञ्चालनार्थ सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाललाई नियुक्त गरिएको छ ।
अस्पताल सेवाअन्तर्गत ओपिडी, डेन्टल ओपिडी, ल्याब सेवाहरु र रेडियोलोजी सेवाहरुको रेखदेख, सुपरीवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित सञ्चालनार्थ अर्का सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बूलाई कार्यभार सुम्पिइएको सहप्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए ।
