धरानः धरान उपमहानगरपालीकाले वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोल बचत गर्न सक्ने भएको छ ।
उपमहानगरले फोहोरबाट उत्पादन गरेको वायोग्यासको प्रयोगबाट सहरमा टेम्पो चलाउन थालेसँगै वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोल बचत हुने अवस्था आएको हो ।
‘अहिले दैनिक हामीले दैनिक ३०० किलोग्राम हाराहारी बायोग्यास उत्पादन गरिरहेका छौं । यो प्लान्ट पूर्ण क्षमतामा संचालन हुने हो भने १२०० किलोसम्म दैनिक ग्याँस उत्पादन हुन्छ’, भेन्चर वेस्ट टु इनर्जी कम्पनीका चेयरम्यान जिनेश श्रेष्ठले भने ।
धरानमा अहिले दैनिक ट्रिपर र ट्याक्टरमा गरेर १० देखि १२ गाडी फोहोर आइरहेको छ । त्यसमा अर्गानिक कम्पोनेन्टको मात्रा ५० प्रतिशत मात्रै छ । कोभिडपछि अर्गानिक कम्पोनेन्टको मात्रा घटेको छ । त्यसैले प्लान्टबाट दैनिक २०० केजी मल र ३ देखि ४ हजार लिटर लिक्वीड मल उत्पादन भइरहेको छ । यसरी बन्ने मल स्थानीय किसानलाई बिक्री हुँदै आएको छ ।
यहाँ घरघरबाट उठाइएको फोहोर छान्ने युनिट पनि बनाइएको छ । जहाँ प्लास्टिक, बोटल, मेटल, सिसा, पेपर सबैलाई छुट्टाउने गरिन्छ । त्यहाँ रिसाइकल हुने, सिसाको बोटल, प्लास्टिक सबै छुट्यााएर कवाडीमा बेचिन्छ ।
यसरी छुट्टाइएको फोहोरमा २० देखि २५ प्रतिशत फोहोर रिसाइकल पनि नहुने किसिमका हुन्छन् । त्यसलाई मेसिनमा राखेर कम्पनीले नष्ट गर्दै आएको छ । भेन्चर वेस्ट टु इनर्जी कम्पनीले धरानको सफल सञ्चालनसँगै विराटनगरमा पनि फोहोर व्यवस्थापनको काम गर्न लागेको अध्यक्ष श्रेष्ठले बताए । ‘विराटनगरमा काम गर्ने भनेर पहिलेको मेयरसँग धेरै काम अगाडि बढेको थियो । अहिले नयाँ मेयर आउनुभएको छ । उहाँसँग कुरा गर्दैछौं ।’ अध्यक्ष श्रेष्ठले भने ।
अहिले धरानमा बायोग्यासबाट ३०० वटा टेम्पो चलाउने योजना कम्पनीले बनाएको छ । साथै, विस्तारै सवारीसाधन बायोग्यासबाट चल्ने बनाउने र वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोलको सट्टा बायोग्यास प्रयोग गर्ने कम्पनीको योजना छ । टेम्पोमा ५ केजी ग्यास अट्ने सिलिण्डर राखिएको छ । यसलाई एक मिनेटमा रिफिल गर्न सकिन्छ । ग्यासको मूल्य प्रतिकेजी ११५ रुपैयाँ रहेको छ । १ केजी ग्यासले ३५ किलोमिटर माइलेज दिन्छ ।