धरानः सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ । नेपाल वायु सेवा सञ्चालक संघले पर्सि बिहानैदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए ।
उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रूपैयाँले हवाई भाडा वृद्धि भएको छ भने सो रुटमा हवाई सेवा लिन अधिकतम १६ हजार ८०५ रूपैयाँ तिर्नुपर्नेछ। सबैभन्दा थोरै काठमाडौं-सिमरा रुटमा भाडा १७० रूपैयाँले बढेर अधिकतम ४ हजार १९५ रूपैयाँ पुगेको छ।

आइतबार रातिदेखि लागू हुने गरी सरकारले पेट्रोलमा २१ रूपैयाँ बढाएर प्रतिलिटर १९९ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रूपैयाँ बढाएर प्रतिलिटर १९२ रूपैयाँ कायम गरेको छ। इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडासमेत वृद्धि भइसकेको छ।
सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको २४ घण्टा नवित्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
विभागले सोमबार जारी गरेको नयाँ मूल्य अनुसार अन्तरप्रदेश यात्रुबहाक र मालबहाक गाडीमा अधिकतम ७.७ प्रतिशतले भाडादर बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ ।