Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सयौं जनता पकुवा खोलामा जागेपछि

हाम्रो कोशी आवाज
असार ११ २०७९, शनिबार
धरानका सयौं जनता पकुवा खोलामा जागेपछि

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान-२० विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धराने जनताले पनि स्वतस्फुर्तरुपमा साथ दिएका छन् ।
केहीदिनदेखि पकुवा खोलाबाट पानी ल्याउन धराने जनताले स्वतस्फुर्तरुपमा श्रमदान गरिरहेका छन् । अझ रोचक त के छ भने धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन अन्य वडाका धरानबासीले जनश्रमदान गरिरहेका छन् । ‘धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन सोही वडा र अन्य वडाका बासिन्दाको पनि श्रमदान गरिरहेको पाइएको छ’, मेयर साम्पाङ भन्छन्, ‘अझ भन्ने हो भने आज खातामा टिपिएको नाम लिष्ट हेर्दा धरान–६ पानबारीदेखि पनि जनता आइपुगेको पाइयो ।’
धरान–८ बाट आएकी दुर्गादेवी राईले स्वतस्फुर्त धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आइपुगेको बताइन् । धरान–१५ बाट आएका दुर्गा मगरले श्रमदान गर्दा धरानबासीले पानी खान पाउने भएपछि यहाँ आएर जाँगर देखाएको बताए । धरान–६ पानबारीकी समला राईले आफूले पनि सहयोग होस् भनेर स्वतस्फुर्तरुपमा आइपुगेको बताइन् । धरान–१७ निवासी गायक एवं पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष भक्तिराज राईले अघिल्लो शनिबार पनि श्रमदान गर्न पुगेको र यो शनिबार पनि श्रमदानका लागि पुगेको बताए । उनले त्यहाँ गिटी कुटेर फर्किएको बताए । उनले ट्याङकी निर्माण नहुञ्जेलसम्म आफूले जनश्रमदान गरिरहने बताए ।
शनिबार सयौं जनता जनश्रमदानका लागि पुगेका थिए । धरान–६ पानबारी, धरान–१६, धरान–१५, धरान–८, धरान–१०, धरान–११, धरान–१७ का बासिन्दा बढी सहभागी भएको पाइयो (हेरौं, सुनौं भिडियोमा धरानबासीको भनाइ) ।
शनिबार ट्याङ्की निर्माणका लागि मेयर साम्पाङसहित जनताले गिटी कुटे, वालुवा, सिमेन्ट, पाइप मात्रै बोकेनन् मसला बनाउन, मसला बोक्न पनि सघाए । केही धरानबासीले खाजा (चना, चिउरा, पेय पदार्थ, चिया, बिस्कुट, चाउचाउ) बोकेर समेत पुगेका थिए ।
यति काम गर्न करिब ५० लाख रुपैयाँ खर्च हुने र अहिले जनता लागेर सो रकम बचाएको बताए । मेयर साम्पाङले भन्छन्, ‘यहाँ बाटो थिएन, सवारी साधन आउन सम्भव थिएन तर पनि सयौं धराने जनताले जनश्रमदान गरेर सेवाभाव देखाए, यसको पनि गीत लेख्न सक्छु ।’ उनले धराने जनता यति विवेकी भएकोमा धन्यवाद समेत दिए । ‘मलाई मत खसाल्न होस्, विकासे कामका लागि धराने जनताको साथ पाएर अत्यन्तै हर्षित छु, अब धरान अघि बढ्छ ।’ त्यहाँ ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उनले केहीदिनभित्रै त्यहाँको पानी धरान ल्याइने बताए ।
शब्द/तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: असार ११ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend