धरानः उद्योगी, व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाको दायित्व बोकेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
नयाँ नेतृत्वको लागि असार २० गते निर्वाचन हुँदैछ । चुनावका लागि चुनावी दौडमा रहेका उम्मेद्वारहरुले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । भोलि सोमबार उम्मेदवारविरुद्ध दावी विरोध र पर्सी मङ्गलबार उम्मेदवारी फिर्ताको समय रहेको छ ।
उद्योगी, व्यवसायीको हकहितको लागि लडेको भन्दै निर्वाचनमा उद्योगी, व्यवसायी लागेपनि राजनीतिक पार्टीहरुसमेत पक्ष–विपक्षमा लागेका छन् । योपटक तालमेल गरेका दलहरुले जित्ने कि कांग्रेसले जित्ने भन्ने पक्ष, विपक्षमा लविङ हुनुका साथै खुलेरै पनि लागेका छन् ।
अध्यक्षका पदका लागि हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिए ।
छन् । अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका शिवराजको प्यानलबाट नेकपा एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्रका व्यक्तिहरुले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका विजय श्रेष्ठलाई कांग्रेसको समर्थन छ । उनलाई नेकपा एमालेकै कतिपय व्यक्तिहरुले समेत समर्थन दिइरहेको व्यवसायीहरु बताउँछन् । वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतले पराजित श्रेष्ठ उवासंघ सदस्य हुँदै उद्योग सचिव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका व्यक्ति हुन् । उनलाई जिताउन भन्दै पूर्व अध्यक्ष मोहनकाजी शाक्य, सरोज श्रेष्ठलगायतहरु खुलेरै लागेको व्यवसायीहरु बताउँछन् ।
उता पुराना व्यवसायी तथा संघका अध्यक्ष चलाइसकेका पवन अग्रवाल एक्लै चुनावी मैदानमा छन् । उनलाई कुनै राजनीतिक दलको समर्थन छैन । अग्रवालले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिनसक्ने सम्भावना रहेको व्यवसायीको अनुमान छ ।
आगामी प्रदेश र संघको चुनावमा सुनसरी उवासंघको भूमिका दर्बिलो हुने निष्कर्षका साथ राजनीतिक दल पनि आफ्नो पार्टीको उम्मेदवार जिताउन दौडधुपमा लागेको पाइएको छ ।
२० गते हुने निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् । जसमा वाणिज्य तर्फ सबैभन्दा बढी १८५८, उद्योग तर्फ १००३, बस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् ।

चारजना निर्विरोध
यसैबीच एशोसियटतर्फबाट गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह, उद्योग महिलामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संघमा अध्यक्षसहित १८ जना निर्वाचित हुनेछन् भने ४ जना सदस्य मनोनित हुनेछन् । साथै, सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ । तस्वीरः लक्ष्मण थापा

