नेपाली बजारमा सुनको कारोबार सुस्ताएको छ । बजारमा आत्यवश्यक परेको अवस्थाबाहेक सुन किन्न ग्राहक आएका छैनन् । सुनको मूल्यमा आएको उतार चढावसंगै गहना खरिद गर्ने सिजन सकिएकोले नेपाली बजारमा सुनचाँदीको कारोबार सुस्ताएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
बैशाख महिनामा सुनको कारोबार राम्रै भए पनि अहिले भने सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनी भन्छन्, ‘गत बैशाख महिनाको तुलनामा अहिले सुनको कारोबार सुस्ताएको छ । अहिले अत्यावश्यक बाहेकका अन्य ग्राहकहरु सुन खरिदका लागि आएका छैनन ।’
अहिले दैनिक करिब १० देखि १५ किलोको हाराहारीमा मात्रै सुनको कारोबार भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए । गत बैशाख महिनाको तुलनामा भने यो कारोबार धेरै नै कम रहेको उनको भनाई छ । गत बैशाख महिनामा सुनको कारोबार दैनिक ३० केजीसम्म हुने गरेको थियो ।
‘बैशाख महिनामा पनि बिहेको लगन हुने भएकाले सुन बजारमा चहलपहल र माग दुवै राम्रै थियो । तर, अहिले सुनचाँदीको कारोबार सुस्ताएको छ । सुनको मूल्य तोलामै लाखौँ रुपैयाँ पुग्न लागेकोले पनि कारोबार सुस्ताएको हुनसक्छ । यससंगै गहना खरिद गर्ने सिजन नभएकोले कारोबारमा मन्दी आएको हो । जेठ अन्तिमदेखि प्रायजसो सुन खरिद गर्न ग्राहक आउन छोडेका छन्’, उनले भने ।
उनका अनुसार अहिले सुन आपूर्तिमा खासै समस्या छैन । आपूर्ति व्यवस्था पनि राम्रो छ । तर, सुन किन्ने ग्राहक छैनन । सुनको मूल्य निरन्तर बढिरहँदा ग्राहकमा किन्ने क्षमता पनि घटेको हुनसक्छ । मूल्यकै कारण विगतमा पाँच तोला सुन किन्न सक्ने ग्राहकले अहिले दुई–तीन तोलामा चित्त बुझाउनु पर्ने अवस्था छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ सय रहेको छ ।
असर्फीको मूल्यमा वृद्धि
गत हप्ता नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा धातुको खरिदबिक्रीसम्बन्धी कार्यविधि संशोधन गरेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि २०७५ मा संशोधन गरेको हो ।
बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको छ । उक्त कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको हो ।
संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा एक सय रुपैयाँले बढाएर प्रतिग्राम असर्फीको मूल्य तीन सय रुपैयाँ बनाइएको छ । यस्तै संशोधित व्यवस्थाले सर्वसाधारण बाहेक सङ्गठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।
यसरी बिक्री गर्दा जर्ती लगायतको लागतबापतप्रति ग्राम पाँच सय थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल तीन सय रुपैयाँ थप गरिँदै आएको थियो । यही असार ५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।