धरानः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा निर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
असार २० गते हुने निर्वाचनमा उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै अघि बढिरहेका छन् । यसै क्रममा पूर्व अध्यक्षका साथ अध्यक्षका उम्मेदवार विजयी श्रेष्ठले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनलाई पूर्व अध्यक्षहरुले समेत साथ दिएका छन् ।
धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गरी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले प्रतिबद्धतामा धरान–६ पानबारीमा प्रस्तावित औद्योगिक ग्राम स्थापना हुने योजनालाई प्राथमिकताका साथ पहल गर्नेदेखि अन्य प्रतिबद्धता सार्वजनिक गरे ।
उनले आफ्नो प्रतिबद्धतापत्रमा उद्योगी, व्यवसायी, व्यापारीको नीतिगत तथा व्यवहारिक समस्याहरुको समस्याको समाधान गर्दै यस क्षेत्रको आर्थिक विकासमा नेतृत्वदायी भूमिका रहने जनाएका छन् । यस्तै, धरान, सुनसरी र आसपास क्षेत्रको विगतको व्यापारिक शाखालाई पुनस्थापना गर्ने र सुनसरीमा थप लगानी वृद्धि गर्न सहजीकरण गर्ने काममा आफ्नो टिमको प्राथमिकता रहेको जनाएका छन् ।
उनको समूहमा उद्योगतर्फ पियुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, विष्णु बराल, वाणिज्यतर्फ किसन मास्के, जयप्रकाश शर्मा, विवेक अग्रवाल, मनोजकुमार अग्रवाल तोदी, रविकुमार राई, राजेश श्रेष्ठ, शैलेशकुमार आचार्य, शशी शाह, वर्षा अग्रवाल श्रेष्ठ रहेका छन् । यस्तै, वस्तुगततर्फ नविनकुमार तामाङ, रामस्वरुप शर्मा रहेका छन् ।
पूर्व अध्यक्षको साथ
लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयलाई पूर्व अध्यक्षहरूले साथ दिने भएका छन् । आयोजित पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष मोहनकाजी शाक्य, राजेन्द्र शाह, सरोज श्रेष्ठ, विजय डाँगा, खजान्चीदास अग्रवाललगायतले समर्थन दिएको जनाएका थिए ।
पूर्व अध्यक्ष सरोजले व्यवसायीको पक्षमा लाग्ने उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे । ‘यतिबेला उद्योगी, व्यवसायीको आवाजलाई उठान गर्न सक्ने नेतृत्व चयन गर्न सकेनौं भने हाम्रो व्यवसाय र व्यवसायी नै धरापमा पर्नेछन्’, उनले भने, ‘त्यसकारण नै यो नेतृत्वको समर्थनमा हिँडिरहेका हौं, अब जिताउन आवश्यक छ ।’
पूर्व अध्यक्ष मोहनकाजीले उद्योगी, व्यवसायीको हकहितको लागि विजयको जीत आवश्यक देखेको बताए । पूर्व अध्यक्ष डाँगाले उद्योगी, व्यवसायीलाई समेट्न सक्ने क्षमता भएका व्यक्तिलाई जिताउन आग्रह गरे ।
विजय श्रेष्ठ जिताऊ अभियानका संयोजक अनिल अग्रवाल (प्रिन्स) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सह–संयोजक अनिल अग्रवाल र पूर्व वरिष्ठ उपाध्यक्ष राजकुमार राईले पनि बोलेका थिए । कार्यक्रममा उद्योगतर्फका उम्मेदवार प्रभात खतिवडाले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम सञ्चालन उम्मेदवार महेन्द्र प्रधानले गरेका थिए ।
यसपटक विजयसहित प्रगतिशील प्यानलका शिवराज श्रेष्ठ र स्वतन्त्र उम्मेदवार पवन अग्रवालबीच प्रतिस्पर्धा हुने भएको छ । तस्वीरहरुः लक्ष्मण थापा


