धरानः सुनसरी उद्योग वाणिज्य सङ्घको धरानमा भोलि निर्वाचन हुँदैछ ।
निर्वाचनअघि उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै अघि बढिरहेका छन् । यसै क्रममा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
धरानस्थित होटल ड्रिमल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय सरकारीबीच समन्वय गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने, संघमा दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, खस्किँदो स्थानीय व्यापारको स्तरोन्नतिका लागि सहजीकरण गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने, उद्योगी व्यवसायीकोहरुमाथि गरिने जबरजस्ती चन्दा आतंक, धम्कीको अन्य गरी सुरक्षाको प्रत्याभूति दिने, सुरक्षाका लागि आवश्यक स्थानमा सीसी क्यामेरा जडान गर्ने एजेन्डा अघि सारेका थिए । ‘हामीले निर्वाच्नमा विजय भएपछि व्यवसायिक क्षेत्रमा देखिएका तमाम समस्यालाई साझा समस्या सम्झिँदै समाधान गर्नेछौं’, पत्रकार सम्मेलनमा उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष अशोक ताम्राकारले संस्थाको सबल र सक्षम नेतृत्व गर्न सक्ने क्षमता र खुबी भएका व्यक्ति शिवराज भएको धारणा राखे । पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना बुनेको र उनलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा राजनीतिक दलको तर्फबाट माओवादीका नेता एवं औषधी ब्यवसायी सिपी दत्त पौडेल र जनता समाज पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूले पनि बोलेका थिए ।
‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिएकी छन् । यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिएका छन् । यस्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिएका छन् । तस्वीरः लक्ष्मण थापा

