धरानः सुनसरी उद्योग वाणिज्य संघ धरानको मत गणना अन्तिम चरणमा पुगेको छ ।
प्राप्त मत परिणामअनुसार सबैभन्दा थोरै मतदाता भएको वस्तुगततर्फको मतगणनामा रामस्वरुप शर्माले ११ र नारायण लिम्बूले १० मत ल्याएर विजयी भएका छन् । शिवराज श्रेष्ठ प्यानलका अनिल ताम्राकारले ६ मत पाए भने विजय श्रेष्ठ प्यानलका पराजित उम्मेदवार नविनकुमार तामाङले ९ मत पाए ।
यस्तै, उद्योगतर्फ पीयुषराज आचार्य ५७८, प्रभाव खतिवडा ५३०, महेन्द्र प्रधान ५२१, विष्णु बराल ४९३ मत ल्याएर विजयी बनेको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिए । उद्योगतर्फबाट भोला श्रेष्ठले ४१५ र चन्द्रप्रसाद बजगाईंले २८४ मत ल्याएका छन् । विजयी भएका लिम्बू अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ प्यानलका हुन् भने अन्य प्रत्यासी विजय श्रेष्ठ प्यानलका हुन् ।
यसैबीच यो समाचार तयार पार्दासम्म अध्यक्ष पदका लागि विजय श्रेष्ठ नै अगाडि रहेको जनाइएको छ । उनी करिब पाँच सय मतले अगाडि रहेको जनाइएको छ ।
अधिकृत डा. शर्माले दिएको जानकारीअनुसार जम्मा मत २९६६ मतदाता रहेको संघमा २२७८ खसेको छ । उद्योगतर्फ १४ सय र वाणिज्यतर्फ ७८२, वस्तुगततर्फ १९ र एशोसिएटतर्फ ७७ मत खसेको थियो ।