धरानः लामो समयदेखि उद्योगी व्यवसायीका हक अधिकारका लागि सक्रिय विजय श्रेष्ठ सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न मत परिणामअनुसार अध्यक्षका दुईजना प्रत्याशी शिवराज श्रेष्ठ र पवन अग्रवाललाई पछि पार्दैै उनी विजयी बनेका हुन् । अध्यक्षका प्रत्याशी उम्मेदवारलाई ५८९ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित विजयले १२२५ मत प्राप्त गर्दा शिवराजले ६३६ मत मात्रै प्राप्त गरे । यस्तै, पवन अग्रवालले ३३३ मत पाएका छन् ।
अधिकृत डा.राजेन्द्र शर्माले दिएको जानकारी अनुसार २९६६ मतदाता रहेको संघमा २२७८ खसेको थियो । उद्योगतर्फ १४ सय र वाणिज्यतर्फ ७८२, वस्तुगततर्फ १९ र एशोसिएटतर्फ ७७ मत खसेको थियो ।
प्राप्त मत परिणामअनुसार वस्तुगततर्फ रामस्वरुप शर्माले ११ र नारायण लिम्बूले १० मत ल्याएर विजयी भएका छन् । यस्तै, उद्योगतर्फ पीयुषराज आचार्य ५७८, प्रभाव खतिवडा ५३०, महेन्द्र प्रधान ५२१, विष्णु बराल ४९३ मत ल्याएर विजयी बनेको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिए । लिम्बूबाहेक अन्य पाँचजना अध्यक्षमा विजयी बनेका विजयका प्यानलका हुन् ।
निर्वाचनमा वाणिज्यतर्फ ८ पदका लागि १७ जनाले स्पर्धा गरेकोमा उपेन्द्र चाम्लिङले ६२२, किसन मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, नविन राजभण्डारीले ६७५ मत ल्याउँदै विजयी बने । यस्तै, वाणिज्यतर्फ नै मनोजकुमार अग्रवाल तोदीले ६१९, शैलेशकुमार आचार्य (प्रमोद) ले ६५१, शशी साहले ६७१ मत ल्याउँदै विजयी बने । वाणिज्यतर्फ वर्षा अग्रवालले ८०१ मत ल्याउँदै विजयी बनिन् ।
निर्वाचन हुनुअघि नै एशोसियटतर्फबाट गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह, उद्योग महिलामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघमा अध्यक्षसहित १८ जना निर्वाचित हुनेछन् भने ४ जना सदस्य मनोनित हुनेछन् । साथै, सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।
को हुन् अध्यक्षमा निर्वाचित विजय ?
लोकतान्त्रिक प्यानल उम्मेदवारी दिएका उनले यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटासँग पराजित भएका थिए । उद्योग वाणिज्य संघका सदस्य हुँदै उद्योग सचिव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका उनी अध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् ।
धरानको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायिक चहलपहललाई पुनर्जीवन दिने उनले बताए । विगतमा नेतृत्वबाट भएका गल्तीलाई सच्याउने र नयाँ योजनाको साथ काम गर्ने उनले प्रष्टयाएका छन् । धरानको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायिक योजना, नीतिको आवश्यकता परेको श्रेष्ठको बुझाइ छ । परम्परागत व्यापार व्यवसायमा आधुनिकता भरेर धरानलाई ब्यापारिक पर्यटकीय शहरको रुपमा विकास गर्ने उनको योजना छ ।
तस्वीरः लक्ष्मण थापा








