धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ ।
बैठकमा २० वटा एजेन्डामाथि छलफल भएको छ । छलफलले केही महत्वपूर्ण निर्णय पनि भएको छ । धरानको तीनकुनेदेखि छाताचोकसम्म कोही कसैले फोहोर फाले जरिवानासहितको कारवाही गर्ने निर्णय भएको छ । यी क्षेत्रमा जथाभावी फोहोर फालेको सूचना दिए पुरस्कृत गरिने समेत निर्णय भएको प्रवक्ता मनोज भट्टराईले जानकारी दिए ।
फोहोर फाल्नेलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को परिच्छेद ७ मा भएको कसुर जरिवाना तथा क्षतिपूर्ति अनुसार कारबाही गर्ने निर्णय भएको छ । यस्तै, अन्य क्षेत्रमा पनि यस्तो निर्णयलाई विस्तार गरिने समेत निर्णय भएको छ ।
‘धरान छिर्नेवित्तिकै वाह कति सफा सहर भन्ने पार्नका लागि यो एजेन्डा ल्याइएको र सर्वसम्मतले पारित भएको छ’, मेयर हर्कराज राई (साम्पाङ) ले भने । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नियमअनुसार जरिवाना गरिने बताए ।
बैठकले नगरभित्रका विद्यालयहरुमा हरेक साता शुक्रबार विद्यालयमा स्वजातीय मौलिक पोशाक लगाउने व्यवस्था गर्ने पनि निर्णय गरेको छ । यस्तै, देश–विदेशबाट आर्थिक सहयोग गर्न चाहनेहरुका लागि आर्थिक सहयोग स्वीकार गर्दै बैंक खाता सञ्चालन गर्ने, राष्ट्रिय आविष्कार केन्द्रको धरान शाखा खोल्ने, यातायात व्यवस्था कार्यालयको शाखा धरानमा स्थापना गर्नका लागि पहल गर्ने, धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि जग्गा खोज्ने, आन्तरिक आय सङ्कलनका लागि ठेक्का प्रक्रियालाई अगाडि बढाउने समेत निर्णय भएको छ ।
धरानस्थित जिल्ला ट्राफिकको भवनका लागि धरान-१७ र धरान-८ स्थित तीनकुने क्षेत्रमा राख्न सकिने विषयमा छलफल हुँदै गर्दा निचोडमा नपुगी बैठक टुङ्गीएको छ । २० वटा एजेन्डामाथि छलफल हुँदै गर्दा समय अभावले आउँदो २३ गते बिहान ७ बजे अर्को कार्यपालिका बैठक बस्ने गरी बैठक स्थगित भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।