धरानः धरान सरोकार समाज काठमाडौंले धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्र भेन्चर वेस्ट टु इनजी प्रालि परिसरमा वृक्षारोपण गरेको छ । वातवरणीय अनुकुलताका लागि समाजले मंगलबार विभिन्न औषधीय गुण भएका विरुवा रोपेको हो ।
समाजका अध्यक्ष प्रभु श्रेष्ठका अनुसार जामुल, निम, बेल, सरिफा, अर्जुन, रिठ्ठा, वटर ब्रस, तितरी, शिरिसलगायतका ५० थान विरुवा रोपिएको छ । विरुवा जिल्ला वन कार्यालय सुनसरीले उपलब्ध गराएको थियो । वृक्षारोपण कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सदस्यहरु सम्राट श्रेष्ठ, दीपक बनेपाली, युएन वमनकी परामर्शदाता तथा महिला अधिकारकर्मी सरु श्रेष्ठ जोशी, सुप्रिया माझी र लायन्स कल्ब धरान–पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
भेन्चर वेस्ट टु इनजी प्रालिले धरान उपमहानगरबाट निस्किएको फोहोरलाई प्रशोधन गरेर ग्याँस तथा मल उत्पादन गदैं आएको छ । २० वर्षपछि धरान उपमहानगरलाई हस्तान्तरण गर्ने गरी कम्पनीले फोहोरबाट ग्याँस र मल उत्पादन गर्दै आएको छ । सो क्षेत्रको वातवरण स्वच्छ र सफा राख्न समाजले वृक्षारोपण गरेको हो ।