विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदीप गिरी कार्यालयमा हाजिर भएका छन् ।
उनले पदभार समेत ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको यही असार १९ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यहाँ आएका हुन् ।
नेपाल प्रहरी संगठनमा राम्रो छवि बनाएका उनले यसअघि विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाजस्ता महत्वपूर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनल ेअपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेर सफलता हासिल गरिसकेका छन् ।
विभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरीको आचरण र ब्यवहारमा सुधार ल्याइ अपराधरहित समाज निर्माणमा अहोरात्र खटिइ कानुनको परिधिमा रहेर जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।