धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नयाँ नयाँ काम गर्ने जोश, जाँगर देखाइरहेका छन् ।
जनताको श्रमदान र मेयर साम्पाङको जनश्रमदानबारे अहिले सर्वत्र चर्चा र तारिफ पनि छ । खानेपानीको प्रमुख मुद्दा लिएर अघि बढेका साम्पाङले जसरी पनि धराने जनतालाई पानी खुवाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
यसैबीच उनले अब धरानमा उद्योग खोल्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य पनि रहेको बताएका छन् । उनले धरानमा बेसार र साबुनको उद्योग खोल्ने र रोजगारी सिर्जना गर्न चाँडै लागिपर्ने बताए । ‘मेरो मुख्य मुद्दा खानेपानी नै हो, जसरी पनि धराने जनतालाई पानी खुवाउँछु’, पकुवा खोलामा श्रमदान गरिरहेका जनताका बीच श्रमदान गर्न पुगेका उनले भने, ‘अब धरानमा चाँडै उद्योग पनि खोल्छु ।’
उनले शुरुमा बेसार उद्योग खोल्ने पनि बताए । ‘शुरुमा बेसार कुट्ने उद्योग खोल्छौं, त्यसको लागि धराने जनताले नै सहयोग पुरै रहन्छ’, उनले भने, ‘अहिले नै पनि एकदुईजनाले सहयोगको बचन दिइरहनुभएको छ ।’
विष्णुपादुकामा उत्पादित बेसारलाई कुटिने, धराने जनताले खानयोग्य बनाइने साथै लेवल टाँसेर बेच्न सकिने उनले बताए । धरान र पहाडी जिल्लामा यस्ता उत्पादन बेच्न सकिने सम्भावना रहेको उनले बताए । बेसार र साबुन उद्योगका लागि सम्भाव्यता अध्ययनमा लाग्ने र चाँडै नै यही उद्योग खोलेरै छाड्ने उनले प्रतिबद्धता जनाएका छन् ।
नगर प्रमुखले गरेको राम्रा कामका लागि धराने जनताले साथ दिँदै आएको र यसका लागि पनि धराने जनताले साथ दिने उनले बताए । ‘धराने जनता पहिलाजस्तो छैनन्, मेरो आफ्नो व्यक्तिगत काम गर्ने होइन, धराने जनता र हितकै लागि गर्ने हो, धरानलाई सुशासित, भव्य बनाउने हो भने सहयोग आवश्यक छ ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज






















