सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटेर घाइतेलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
यस्तै, सोमबार राति बराहक्षेत्र–६ चक्रघट्टीमा दुई युवाहरूबीचको सामान्य विषयमा विवाद बढ्दै जाँदा एकजनाको हत्या भएको छ ।
बराहक्षेत्र–६ मुनाल चोक बस्ने वर्ष २५ को सविन तामाङले सो स्थान बस्ने वर्ष ४० को आषिश दर्जीमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । मापसे समेत गरी दर्जीको छातीमा छुरा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका दर्जीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख टिका कार्कीले जानकारी दिए । छुरा प्रहार गर्ने सविनलाई पक्राउ गरिसकेको उनले जानकारी दिए ।