धरानः धरान, बराहक्षेत्र र उदयपुरमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा बुधबार राति करिब ८ बजे सवारी दुर्घटना हुँदा साइकलयात्रीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिएको थियो ।
यस्तै, उदयपुरमा यात्रुबाहक बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीब्र गतिका कारण यात्रुवाहक बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
कटारीबाट मैयाँखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट पूर्वतर्फ पल्टिएको थियो । दुर्घटनामा कटारी–१३ का विष्णु राउतको मृत्यु भएको हो । टाउको र शरीरमा चोट लागेर घाइते भएका १८ वर्षिय राउतको बुधबार राति सवा ८ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटारी–८ का २० वर्षीय राज ठकुरी, ५० वर्षीय इन्द्रबहादुर मगर र २२ वर्षीय मनोज ठकुरी घाइते भएका छन् । यस्तै, ५५ वर्षीय उर्मिला ठकुरी, कटारी–११ का १८ वर्षीय दिवस बस्नेत, ३५ वर्षीय कृष्णबहादुर बुढाथोकी, २२ वर्षीय दीपेश कोइराला र ५० वर्षीय निर्मल भुजेलको टाउको तथा शरीरमा चोट रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारभ भइरहेको छ । २८ वर्षीय चालक निरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, धरानमा सिटी सफारी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । धरान–१३ जिरोप्वाइन्टको कोशी लोकमार्गमा फुस्रेबाट भानुचोकतर्फ आउँदै गरेको को१ह ३१०३ नम्बरको सिटी सफारी ब्रेक फेल भई दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।
सफारीले धरान–१३ का १८ वर्षीय लासीहाङ लिम्बूलाई ठक्कर दिँदा उनी घाइते भएका छन् । यस्तै, सफारीमा सवार धरान–१५ बस्ने वर्ष ६० को नरबहादुर राई, निजकी श्रीमती वर्ष ५६ की पूर्णिमाया राई, धरान–१ बस्ने वर्ष ४० की कल्पना राई घाइते बनेका थिए । उनीहरुलाई उपचारका लागि बीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । सफारी प्रहरी चौकी अमरहाटको नियन्त्रणमा रहेको र चालक फरार रहेको साथै खोजतलास भने भइरहेको प्रहरीले जनाएको छ ।