Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेलाई पानी खुवाउने मेयर साम्पाङको ‘आइडिया’

हाम्रो कोशी आवाज
असार ३० २०७९, बिहिबार
धरानेलाई पानी खुवाउने मेयर साम्पाङको ‘आइडिया’

धरानः धरानको दुई ठाउँमा वर्षायामको पानी सञ्चित गर्नका लागि पोखरी निर्माण गरिने भएको छ ।
धरान-१३ स्थित बानियाँटार र खर्दु खोलानजिक रहेको खाली जग्गामध्ये कुनै एक स्थानमा पोखरी निर्माण गरेर वर्षायामको पानी सञ्चित गरी खुवाउने उपमहानगरपालिकाको योजना छ ।
बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित इन्जिनियर राजु पोख्रेल, मेकानिकल विभागका प्रमुख आरडी यादव, इलेक्ट्रिकल विभागका प्रमुख पंकजकुमार रौनियार, सिभिल विभागका प्रमुख प्रभातकुमार देवको टोलीले त्यहाँ पुगेर अवलोकन समेत गरेको छ ।
‘मेरो कल्पना के छ भने दुई स्थानमध्ये एक स्थानमा सर्दु र खर्दुको पानी जम्मा गरिने र धराने जनतालाई हिउँदमा पानी खुवाउने योजना छ, सोहीअनुरुप आज निरीक्षणका लागि आइपुगेका हौं, सम्भवतः अब चाँडै नै काम थालिहालिन्छ, यसले चाहिँ धराने जनतालाई पानी खान केही भएपनि राहत हुनेछ भन्ने मेरो विश्वास छ ।’ मेयर साम्पाङले भने । उनले विशेषतः कार्तिक, मङ्सिरको पानी स्टोर गर्न सकिने आफ्नो कल्पना रहेको बताए ।
उनले त्यहाँ जम्मा भएको पानी पाइपबाट लगेर टर्वाइन घुमाएर बिजुली समेत निकाल्ने आफ्नो ‘कन्सेप्ट’ रहेको बताए । बानियाँटारमा पोखरी बने बीपी पार्क तलतिर पाइपबाट पानी तानेर बिजुली समेत निकाल्ने आफ्नो योजना रहेको सुनाए । ‘खासमा त यो पोखरी निर्माण हुनु भनेकै धरानको पानी बढाउन नै हो’, उनले भने, ‘तर बिजुली बल्दो रहेछ कि भनेर हेर्ने र देखाउने काम पनि यहाँबाट थालिनेछ, बीपी पार्क तलतिर पाइपबाट पानी लगेर टर्वाइन घुमाएर बिजुली निकालिन्छ ।’
मेयर साम्पाङले यो काम गरेर ‘आइडिया र कसेप्ट’ देखाइसकेपछि राज्यमाथि पनि दबाव पर्ने बताए । ‘कसरी पानी खाँदै बिजुली पनि उत्पादन हुँदो रहेछ भन्ने कुरा देखाउन र कन्सेप्ट पनि दिन खोजिएको हो’, उनी भन्छन्, ‘हाम्रो कन्सेप्टचाहिँ यो हो भनेर देखाउन र बुझाउन खोजिएको हो, यसले राज्यलाई पनि थप दबाव पर्छ र कोशीबाट पानी ल्याएर धरानमा बिजुली बाल्न सकिन्छ ।’
मेकानिकल विभागका प्रमुख यादवका अनुसार मेयर साम्पाङको ‘कन्सेप्ट’ ठीक भएको र सर्दु, खदुको मात्रै नभएर कोशीको पानी समेत त्यहाँ लगेर खसाउन सकिने बताए ।
दुई स्थानमध्ये बानियाँटारमा पोखरी निर्माण गर्दा बढी सम्भव भएको र सर्दु–खर्दु दुवै स्थानको पानी ल्याएर त्यहाँ जम्मा गर्न सकिने उपमहानगरपालिकाका इन्जिनियर राजु पोख्रेलले जानकारी दिए ।  मेयर साम्पाङका अनुसार सो पोखरी निर्माणका लागि करिब २–३ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उनले यसका लागि राज्यसँग सहयोग माग्ने पनि बताए । ‘पहिलो कुरा राज्यसँग नै सहयोग मागिन्छ तर राज्यबाट सहयोग भएन भने विश्वभर छरिएर रहेका नेपालीलाई गुहार्छु ।’

प्रकाशित मिति: असार ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend