धरानः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
कोशी गाउँपालिका–१ राजापोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ३९०६ नम्बरको विङगर भ्यान र विपरीत दिशाबाट जाँदै गरेको को१ख ७३२६ नम्बरको टिपर एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
भ्यानका चालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा बिहीबार राति करिब ७ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको हालसम्म पनि परिचय खुल्न नसकेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
घाइते हुनेहरुमा सप्तरी रुपनी–४ का रामचन्द्र साह, पूजाकुमारी साह, सप्तरी छिन्नमस्त–५ की राधाकृष्ण दास, सुनसरी इनरुवा–४ की सिर्जनाकुमारी मेहता, सुनसरी कोशी गाउँपालिका–८ का निरज यादव, मोरङ विराटनगर–११ का राहुल देव, सुशिलादेवी देव, सालिनी देव र भारत बिहार वीरपुर भीमनगरका अनुभव सिंहा रहेका छन् ।
दुर्घटनामा टिपर चालक बराहक्षेत्र–२ का जीवन खड्का प्रहरी नियन्त्रणमा रहेका छन् । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।