धरानः परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २० औं संस्करण सम्पन्न गरेको छ ।
धरान–१५ स्थित श्यामचौक सेवा समाजको भवनमा आयोजित कार्यक्रम श्यामचौक युवा समूहको सहकार्यमा सम्पन्न भएको छ ।
विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचाप सम्बन्धी परीक्षण गरिने सो क्लिनिकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा जाँच गरिएको थियो । विशेषगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुका लागि आयोजित सो क्लिनिकमा ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रमको औपचारिक समुद्घाटनमा प्रमुख अतिथि रहेका धरान वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारामले २० औं संस्करणसम्म निरन्तर कार्यक्रम आयोजना हुनु साधारण कार्य नभएको बताए । ‘संस्था दर्ता भएर थन्किएर बसेका हुन्छन् तर परिवर्तनका लागि सामाजिक अभियानले दर्ता भएकै महिनादेखि शुरु गरेर हालसम्म निरन्तर २० औं संस्करणसम्म कार्यक्रम आयोजना हुनु महत्वपूर्ण कुरो हो’ इवारामले भने ।
अभियानले विगत ११ महिनादेखि निरन्तर रुपमा यो कार्यक्रम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनमा केन्द्रित रहेका कार्यक्रम गर्दै आइरहेको अभियानका अध्यक्ष विष्णु बरालले बताए । ‘हामीले २० औं संस्करण सम्म यो कार्यक्रम आयोजना गरिसकेका छौं, र हामीले शिक्षा र पर्यटनमा पनि कार्यक्रमहरु गर्दै आइरहेका छौं’ बरालले भने ।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त क्लिनिकमा अभियानका अभियन्ताहरु मोहन श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल र निशान नेपालको सहभागिता रहेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स निर्मला बाँस्तालाले रक्तचाप परीक्षण गरेकी थिइन् । सामाजिक स्वास्थ्य क्लिनिक स्थानीय जनताहरुको लागि निकै नै प्रभावकारी रहेको र अभियानले धेरै नै सह्रानीय कार्य गरेको पत्रकार रणध्वज लोहारले बताएका थिए ।

