धरानः प्रस्तावित धरान-लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ । २०७९ असार अन्तिममा सार्वजनिक भएको हो ।
सुरुङमार्गको फिजिबिलिटी अध्ययन ‘टीएमएस इआइ माभेन रेस जेभी’ ले गरेको हो । उसले ३० लाख १५ हजार रुपैयाँमा अध्ययन सकेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सीडीई) सौरभ बज्राचार्यले जानकारी दिए ।
अध्ययन रिपोर्टले धरान–लेउती सुरुङमार्ग बनाउन १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने देखाएको उनले जानकारी दिए । धरान–धनकुटा सडक खण्डमा बन्ने सुरुङ माग ३.८६ किमि लामो बन्नेछ । सुरुङमार्गका दुई प्रवेशद्धार भने धरानको खर्दु र लेउतीमा रहने बताइएको छ । अनुसन्धान केन्द्रका अनुसार सुरुङ बनेपछि घट्ने १५ किलोमिटर सडकमा धेरै घुम्ती पनि छन् । सुरुङका कारण सडकका घुम्तीहरु पनि छोटिने भएकाले लामो दूरीको यात्रा गर्न सहज हुने बताइएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन हुने समय भने निश्चित हुन सकेको छैन । आर्थिक वर्ष ०७९–०८० का लागि धरान–लेउती सुरुङमार्ग निर्माण शीर्षकमा १ करोड रुपैयाँ बजेट प्राप्त भएको केन्द्रले जनाएको छ । तर, बजेट नआउँदा डीपीआर अध्ययनको समय अनिश्चित बनेको हो । ‘आर्थिक वर्ष ०७९–०८० को लागि पर्याप्त बजेट व्यवस्था नहुँदा डीपीआर अध्ययन कहिले हुन्छ भन्न सक्ने अवस्था छैन,’ उनले भने ।