धरानः साउन महिनामा विशेषगरी मेहेन्दी, चुरा तथा पोतेको व्यापार बढी हुने गर्छ । साउन महिनाभर महिलाहरुले हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, मेहन्दी लगाउने चलनले गर्दा यस्ता श्रृङ्गारका सामानको व्यापार बढेको व्यवसायीहरु बताउँछन् ।
साउन लागेपछि धरानको मुख्य रोडमा भीडभाड बढ्ने गरेको र व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन् । ‘करिब दुई वर्ष कोरोना कहरले व्यापार व्यवसाय ठप्पझैं थियो’, व्यवसायी असरत अली भन्छन्, ‘तर यसपटक साउने व्यापार आशलाग्दो छ ।’ उनका अनुसार यसपटक अधिकांश महिला, युवती र बालिकाहरुमा हातभरि डम्म हरिया चुरा लगाएका छन् । उनले यसपटक चुरा व्यापार बढी उक्सिएको बताए । ‘साउनमा हरिया र पहेंला चुरा बढी बिक्री भइरहेको छ’, उनले भने ।
पछिल्लो समय साउनमा महिलाले हरियो चुरा तथा मेहन्दी लगाउने चलन बढ्दो छ । युवा, प्रौढ तथा सेलीब्रिटी सबै खालका नारी यो परम्परामा बाँधिन चाहन्छन् । विशेषगरी युवापुस्तामा मेहन्दी र हरियो चुराको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन् ।
‘जे होस् यसपटक आशलाग्दो व्यवसाय भइरहेको छ’ धरान घण्टाघर पछाडि मेहन्दी लगाउन बसेकी चाँदनी खातुनले भनिन्, ‘अहिले मेहन्दीको व्यापार बढिरहेको छ ।’
विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै मेहन्दी र चुरा लगाउने गरेको व्यवसायीहरु बताउँछन् । साउन महिनामा विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गरी ब्रत बस्ने गर्दछन् भने अविवाहितहरू असल श्रीमानको कामनासहित ब्रत बस्ने गरेका छन् ।
साउन महिनाको सोमबार हिन्दू धर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्छन् । हिन्दू धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्छन् । साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर ब्रत बसे इच्छित कामना पूरा हुने जनविश्वास छ । साउनमा सोमबार परेको दिन महिलाहरुले हरिया तथा पहेला चुरा, पोते, मेहेन्दी लगाउने गरेका छन् । हरियो चुरा अटल सौभाग्यको सौन्दर्य मानिने हुँदा साउने सोमबार व्रतमा महिलाले विशेषगरी लगाउने गरेका छन् ।
अन्य महिनाभन्दा साउन महिनामा खासगरी अधिकांश हिन्दू महिलाहरुले हरियो चुरापोते र मेहन्दी किन्ने गरेको गरेको व्यवसायी सजना श्रेष्ठको भनाइ छ । ‘अन्य महिनाभन्दा साउनेमा हाम्रोमा चुरा, मेहन्दी र श्रृगांर समान बढी बिक्रि हुने गर्दछ । अहिले दैनिक हुने व्यापार पनि बढेको छ ।’
उनका अनुसार कतिपयले चुरा र मेहन्दीको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् । हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेको कतिपय महिलाहरुको भनाई छ ।
तस्वीरहरुः लक्ष्मण थापा









