विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढीगंगा गाउँपालिका–१ का दीपेन यादवको १ वर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संलग्न दुईजना पक्राउ परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार गत साउन २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी थिइन् । बालिकाको खोजतलासमा खटिएको प्रहरीले घटनामा संग्लग्न विराटनगर महानगरपालिका–६ का २७ वर्षीय रविन्द्रकुमार साहको संग्लग्नता रहेको खुलेसँगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो ।
अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेसँगै भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्दार गरिएको तथा अपहरणमा संग्लग्न विराटनगर–५ कि २७ वर्षीया अनु साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका दुवैजनाबीच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनुको अपहरित बालिकाको बुबा दीपेन यादवसँग समेत चिनजान भएको थियो । दुवैजनाको चिनजान र भेटघाटको क्रममा अनुले दीपेनलाई छोरी हेर्न मन लागेको भनी बारम्बार छोरी लिएर आउन कर गरेसँगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडशेष चोकमा आएको र पूर्व योजनाअनुसार केही बहाना बनाएर अनुले दीपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
बालिकालाई सोही स्थानमा रहेका रविन्द्र कुमारको मोटरसाइकलमा हालेर दुहवी, भान्टाबारी र राजविराज हुँदै भारतको कुनौलीतर्फ पठाइ रविन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खुल्न आएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको प्रहरीले जनाएको छ ।
योजनाकार रविन्द्रले अनुको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुकमार्फत बालिका हराएको कुरा पोष्ट गरेको कुरा हटाउन धम्की समेत दिएका थिए । भारतको दरभंगामा अनुले बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ ।
प्रहरीका अनुसार फिरौती पैसा माग्ने उद्देश्यसहित उनीहरूले बालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले पैसाकै लागि अपहरण गरेको देखिएको छ ।’ प्रहरी उपरीक्षक राईले भने, ‘प्रशस्त पैसा भएको चाल पाएर १५ लाख रुपैयाँसम्म फिरौती माग्न सकिन्छ भन्ने हेतुले बालिकाको अपहरण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’