विराटनगरः दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
भारतीय ट्रेलर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा–२ मा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राई रहेको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको एफआर३८एफ २२१० नम्बरको ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई गम्भीर घाइते भएका र उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, भोजपुरमा टयाक्टरले किचेर बालकको मृत्यु भएको छ ।
सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ को ट्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनापछि फरार चालकलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए ।