धरानः शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसहित पुगेका बताउने धरान उपमहानगरपालिकाका खानेपानी बोर्डका निर्देशक राजु पोख्रेल पनि उत्साहित थिए । उनी फोनमा कुराकानी गरिरहेका थिए– हैट आज त जनताको उत्साह देखेर म आफैं पनि छक्क परेको छु । यति धेरै धरानबासी आउनु भएको छ कि यति धेरै ।
दुधे नानी समेत च्यापेर श्रमदानका लागि पुगेकी धरान–१३ देखि राधाकुमारी राईले आफूले गिटी कुट्न सघाएको बताइन् । यस्तै, धरान–१७ बाट आएका सुमनकुमार राईले आफ्नो ठाउँ बनाउन आइपुगेको बताए । ८५ वर्षमा पाइला टेकेका धरान–१३ का साजीबहादुर गुरुङले घरछेऊदेखि पाइप बोक्न सघाएको बताए । (हे.भिडियो)
‘विशेषतः धरानमा पानीकै समस्या छ, पानीको दुःख मेट्न मेयर लागिपरेको देखेर स्वतस्फुर्त यहाँ आइपुगेको हुँ’, साजीबहादुर भन्छन् ।
राधाकुमारीले भनिन्, ‘हामीले दुःख गर्दा पानी आइहाल्छ भने किन नखट्ने ?’, उनले थपिन्, ‘हिजोका जनप्रतिनिधिले विश्वास नै दिलाएनन् तर अहिलेका मेयरले विश्वास दिलाइरहेका छन्, त्यही भएर राम्रो काम गर्ने मेयरलाई साथ दिन यहाँ आएकी हुँ ।’
धरान–१३ मा अघि बढिरहेको निशाने प्रोजेक्ट, सर्दु, खर्दु र निशानेको पानी ल्याएर जम्मा गर्ने स्थल (करिब २ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निर्माणस्थल) मा मेयर, उपमेयर अइन्द्रविक्रम बेघादेखि सयौं धराने, भूपु लाहुरेलगायत धरानबासीको उत्साहपूर्ण सहभागिता रह्यो ।
सयौं धरानबासीको उपस्थिति देखेपछि मेयर साम्पाङले भन्न भ्याए– जे होस् ढुङ्गाभन्दा धेरै जनता आए (हाँसो र फेरि जनताको पनि हाँसो, हे.भिडियो) । ‘अहिले ढुङ्गाभन्दा धेरै मानिसहरु आएको पाएँ’, उनले भने, ‘धराने जनताले स्वतस्फुर्त आएर देखाएको सहानुभूतिप्रति विशेष धन्यवाद छ ।’
उनले आफूले भूपु सैनिकलाई पनि धरानको विकासँग जोड्नका लागि डाकेको बताए । ‘विशेषतः भूपु सैनिककै कारण धरान बनेको हो’, उनले भने, ‘त्यही भएर धरानको विकाससँग भूपु लाहुरेहरुलाई पनि स्वतस्फुर्त जोडिनुहोस् भन्ने आह्वानका लागि यहाँ बोलाइएको हो ।’
मेयर साम्पाङले सर्दु, खर्दु र निशानेको पानी जम्मा गर्न ट्याङ्की निर्माणका लागि यति धेरै जनता आएर जनश्रमदान गरेको बताए । उनले अहिले निशानेमा इन्टेक निर्माण भइसकेको समेत बताए । उनले जसरी भएपनि धराने जनतालाई पानी खुवाएर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मेयर साम्पाङले त्यहाँ नमूनाका लागि सर्दु खोलाबाट बिजुली निकाल्ने आफ्नो योजना रहेको समेत सुनाए । शनिबार नै त्यहाँ बिजुली निकाल्ने प्रोजेक्टको उद्घाटन समेत भएको छ ।
कार्यक्रममा उपस्थित उपमेयर अइन्द्रविक्रम बेघाले धराने जनता श्रमदानजस्तो महादानमा भित्री मनदेखि लागेको अनभूति गरेको बताए ।
सुकुम्बासी नेता कुमार कार्कीले भने, ‘धरानका मेयर साम्पाङले आह्वान गरेको जनश्रमदानमा सयौं जनता उत्रिएको पाइएको छ, खोलाको बगरभरी, पाखैभरी जनता देखियो, खोला र बगर श्रमदान गर्नेले नै ढाकेका छन्, यसले धरानको मुहार चाँडै फेरिन्छ जस्तो अनुभूति भएको छ ।’
चुनाव जितेपछि उनी खानेपानीको सेवा सुधारमा तल्लिन छन् । पकुवा खोलाबाट वर्षायामका लागि भन्दै पानी ल्याइसकेका छन् अहिले पनि उनी निशानेलगायत अन्य खोला चहार्दै जनतालाई जनश्रमदानमा अघि सार्दै आएका छन् ।
तस्वीरहरुः शेखरनाथ जोगी


















