Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदयका विद्यार्थी वृद्धाश्रममा पुगेर दिए छोराछोरीको झल्को

हाम्रो कोशी आवाज
साउन ८ २०७९, आइतबार
धरानको युएन, नवोदयका विद्यार्थी वृद्धाश्रममा पुगेर दिए छोराछोरीको झल्को

खुवाए बनाएर मिठो खाना, काटिदिए नङ, कोरिदिए कपाल
धरानः विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले धरानको युएन, नवोदय कलेजमा स्थापना गरिएको युएन नवोदय हेल्पिङ हयान्ड्समा आवद्ध विद्यार्थीहरुले शनिबार ज्येष्ठ नागरिकहरुलाई खाना खुवाएका छन् ।
इटहरी–१६ पकलीमा रहेको राम–जानकी वृद्धाश्रममा पुगेर विद्यार्थीहरुले आमाहरुलाई खाना पकाएर खुवाएका हुन् । बिहानै आश्रममा पुगेका विद्यार्थीहरुले आमाहरुको नङ काटिदिनुका साथै कपाल समेत कोरिदिएका थिए । यसैगरी हेल्पिन्ङ ह्यान्ड्सका संयोजक राम लिम्बूले आश्रमका सचिव रेनुका ओझालाई ५ हजार रुपैयाँ नगदसमेत हस्तान्तरण गरे ।
आश्रममा रहेका आमाहरुको स्वास्थ्य उपचारका लागि निर्माण हुन लागेको कोषमा जम्मा गर्न रकम हस्तान्तरण गरेको संयोजक लिम्बूले जानकारी दिए । कलेजका विद्यार्थीहरुलाई पढाइ लेखाइको अतिरिक्त विभिन्न सामाजिक कार्यमा समेत जिम्मेवारी बोध गराउने उद्देश्यले वृद्धाश्रममा आमाहरुलाई खाना खुवाउनुका साथै नगद प्रदान गरिएको कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
आश्रमका अध्यक्ष विष्णुबहादुर डाँगीले विभिन्न सहयोगी दाताहरुकै कारणले संस्था चलाउन सजिलो भएको बताए । नगद सहयोगसहित आश्रममा रहेका आमाहरुलाई खाना खुवाएर सहयोग पुरयाएकोमा अध्यक्ष डाँगीले कलेजलाई धन्यवाद ब्यक्त गरे ।
आश्रमम रहेका आमाहरुलाई फलफूलसमेत वितरण गरिएको थियो । विद्यार्थीहरुले आश्रममा रहेका आमाहरुसँग नाचगान गरेर रमाइलो गरेका थिए । आश्रमकी ज्येष्ठ आमा राधिका न्यौपानेले विद्यार्थीहरुले नङ काट्दै कपाल कोरी खाना बनाएर खुवाउँदा आफ्नो छोराछोरीको झल्को आएको बताइन् । उनले भनिन्, ‘हामी धेरै खुशी छौ । सबै छोराछोरीहरुलाई आशिर्वाद छ ।’
कलेजकी छात्रा बन्दना राईले यसरी आश्रममा रहेका आमाहरुलाई खाना पकाएर खुवाई सेवा गर्न पाउँदा खुशीको अनुभूति भएको बताइन् । आश्रममा विद्यार्थीहरुको साथमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक नाम्लिङहाङ चेम्जोङ र एसइई स्टेट–१ डान्सिङ स्टारकी बिजेता नुमा लिम्बू पनि सहभागी थिइन् ।

प्रकाशित मिति: साउन ८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend