धरानः सुनसरीदेखि अन्य जिल्लामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
शनिबार राति साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सडक खण्डमा प्रदेश १–०२–०४७ प ७९४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–१६ का १८ वर्षीय कृष्ण चौधरीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित राजमार्गमा मे.१ ख ३२३० नम्बरको बसले को३७प १४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक इटहरी उपमहानगर पालिका–२० तरहरा सुनसरीका २६ वर्षीय रोयल राईलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुरयाउनासाथ मृत्यु भएको हो । ठक्कर दिने दुवै सवारी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
उता झापाको कमल गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा प्रदेश १–०१–०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाइते भएकी पैदलयात्री स्थानीय ७० वर्षीया मनमाया बाँस्कोटाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका–२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।