Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विदेशमा पसिना बगाएर धरानमा सहयोग

हाम्रो कोशी आवाज
साउन १० २०७९, मंगलबार
विदेशमा पसिना बगाएर धरानमा सहयोग

धरानः विदेशमा बसी धरानमा सहयोग गर्नेहरु बढ्दै गएका छन् ।
यसैबीच हङकङमा कार्यरत धरान–१८ निवासी सविन नेवाहाङ राई र उनकी श्रीमती सुजाता वान्तवा राईले डस्विन र खानेपानीका लागि पाइप सहयोग गरेका छन् । उनीहरुले १३ वटा डस्विन र १९ वटा पाइप धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई हस्तान्तरण गरेका छन् । ३ लाख १४ हजार ७ सय रुपैयाँ बराबरको ती सामान उनीहरुले हस्तान्तरण गरेका हुन् ।
आफ्नो स्वर्गीय बुबाआमा पृथीबहादुर नेवाहाङ राई र जसमाया नेवाहाङ राईको स्मृतिमा सो सामग्री दिएको भाइ अविन राईले जानकारी दिए । धरान राम्रो होस् भन्ने विदेशमा बस्ने उनीहरुको चाहना रहेको र फेरि पनि सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए ।
मेयर साम्पाङले दाता दम्पत्तिप्रति आभार प्रकट गर्दै आफूलाई धेरै भाग्यमानी समेत भने । ‘मनकारी, सहयोगी जनताको मेयर बन्न पाएकोले नेपालकै लक्की मेयर महसुस गरेको छु’, उनले थपे, ‘म एउटा काम गर्छु भन्छु, जनश्रमदान दिनेदेखि सहयोग दिने जनताको साथ पाएको छुँ । अत्यन्त खुशी लाग्छ, यति सचेत, यति विकासप्रेमी जनताको नेतृत्व गर्ने सौभाग्य पाएँ ।’
यस्तै, धरान–१६ का दीप राईले पनि पाइप प्रदान गरेका छन् । उनले ७ रोल पाइप हस्तान्तरण गरेका थिए । बेलायतमा कार्यरत धरान–३ निवासी प्रेमकुमारी लिम्बू र गंगाप्रसाद लिम्बूले सो पाइप सहयोग गरेका हुन् ।
यस्तै, संयुक्त किरात समाज बेल्जियम कार्य समितिले ५७ मिटर पाइप सहयोग गरेका छन् । १ लाख १० हजार रुपैयाँको पाइप उनीहरुले मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई सहयोग गरेका हुन् ।
विमल सुब्बा, राकेश राई, पर्वत राई, भीम थेबे, माकुना राई, नेत्र फागो, नवराज सुब्बा, कविता सावादेन, ज्ञानेन्द्र सुब्बा, डिल्ली सुब्बा, दौलत लामा, सागर सुब्बा, मन्दराज गुरुङ, सुविना राई, अविशेक दाहाल, शेरबहादुर राई, इन्द्रप्रसाद लिम्बू र संस्थाले त्यतिको रकम सहयोग गरेका हुन् । धरान–१९ का नेता सन्त तेम्बेले सो सामग्री हस्तान्तरण गरेका थिए ।
धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले मेयर साम्पाङको अभियानको कारण देश विदेशबाट सहयोग आउन थालेको र बोर्डको धेरै बजेट जोगिने बताए । उनले पाइपबाट मात्र ३० लाख रुपैयाँ वा त्यो भन्दा बढी पनि अर्को वर्षको लागि पनि बजेट बचत हुनसक्ने आंकलन गरे ।
मेयर साम्पाङले धरानबासीले श्रमदान गरिरहेको र उतिकै मात्रामा विदेशमा बसेर श्रम, पसिना बगाउने नेपाली दाजुभाइहरुले पनि सहयोग गरिरहेको बताए ।

प्रकाशित मिति: साउन १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend