Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले किन छाँट्दैछन् कर्मचारी ?

हाम्रो कोशी आवाज
साउन १० २०७९, मंगलबार
धरानका मेयर साम्पाङले किन छाँट्दैछन् कर्मचारी ?

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले फेसबुकमा स्टाटस लेखिरहन्छन् । उनी कहिले कर्मचारीलाई विदाइ गर्ने भन्दै, कहिले सचेतनामूलक स्टाटस लेखिरहन्छन् । उनले मिडियामार्फत् भन्ने पनि गरेका छन्– मैले फेसबुकमा केही लेखिहालें भने बुझ्नुहोस्, अब काम थालेछन् ।
उनले केही हप्ताअघि फेसबुकमा लेखेका थिए– तलव खुवाउँदा बेरुजु देखिने, काम नगर्ने, भनेको नमान्ने, कुरा काटेर हैरान बनाउने, चेन अफ कमाण्ड नमान्ने कर्मचारीहरुलाई विदा दिदैंछौं ।
त्यसको केही समयपछि धरान उपमहानगरपालिकाले २ जना इञ्जिनियरसहित १८ जना करारका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाइएको विषयमा सार्वजनिक भयो । यस्तै, धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ ।
यसअघि राजनीतिक पार्टीबाट मेयर भएकाहरुले करार कर्मचारीको रुपमा भर्ती गराएका पार्टीका कार्यकर्तालाई नगरपालिकाबाट निकालिएको विषय अहिले चर्चामा छ । काम नगर्ने कर्मचारीलाई हटाइने छ भन्दै सार्वजनिकरुपमै उदघोष गरेर काम थालेका उनले पार्टीको कार्यकर्ता भएर नियुक्ति लिएर बसेकाहरुलाई छाँट्न थालेका छन् ।
नगरपालिकामा हाजिर गर्न नदिइएका १८ जनामध्ये आठजना प्राविधिकतर्फका करार कर्मचारी छन् । अन्य १० जना भने २०७४ सालपछि निर्वाचित भएका मेयरहरूकै पालामा राजनीतिक रूपमा भर्ती भएकाहरू हुन् । उपमहानगरले हाजिरी खातामा सूचना टाँसेर ती १८ जनालाई हाजिर गर्न रोक लगाएको छ ।
प्राविधिकतर्फका आठजनाबाहेक अन्य १० जना तत्कालीन स्वर्गीय मेयर तारा सुब्बा, उनको निधनपछि कार्यवाहक मेयर मञ्जु भण्डारी र उपनिर्वाचनबाट मेयरमा निर्वाचित तिलक राईका पालामा राजनीतिक भर्ती भएकाहरू हुन् । उनीहरूलाई खेलकुद प्रशिक्षक, कोरोना डेडिकेटेड एम्बुलेन्स चालक, मेयरको गाडी चालक, नगर प्रहरी, कानुनी सल्लाहकारलगायत विभिन्न कार्यक्रमहरूमा करारमा राखिएको थियो ।
असार मसान्तसम्म करार अवधि रहेको र उनीहरूबारे थप निर्णय नभएकाले हाजिर गर्न नदिइएको नगरपालिका स्रोतले जनाएको छ । उनको यस्तो कदमले नेता, कार्यकर्ता रिसाएका छन् भने जनता अत्याधिक खुशी देखिएका छन् । राजनीतिक रूपमा भर्ती भएकाहरूलाई नहटाउन र करार अवधि थप गर्न नेपाली कांग्रेस, नेकपा एमालेको ठूलो दबाब छ ।
ती पार्टीहरुले आफ्ना निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुमार्फत मेयर राईलाई करार कर्मचारी नहटाउन दबाब दिएको हो । एमाले, कांग्रेस र माओवादीबाट निवार्चित वडाअध्यक्षसमेत साथै कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर दबाव दिएका थिए ।
राजनीतिक आडमा नियुक्ति पाएका ती कर्मचारीले काम गर्नुभन्दा पनि डुलेर नै समय बिताउने गरेको बोर्डका एक कर्मचारीले बताए ।
घुलमिल गरिरहेका साम्पाङले श्रमदानका लागी एकै पटक धराने जनतालाई सँगै लिएर हिँडेका मात्रै छैनन् नगरपालिका भित्रको आन्तरिक सुधारका लागी पनि पर्याप्त कदम चालिरहेका छन् । उनको कामको रिजल्ट देखिन थालेको छ । आफूलाई कुल्ली मेयर भन्दै जनतासँगै काममा समेत श्रमदान गरिरहेका उनले उपमहानगरभित्रबाटै सुधार थालेका छन् । ‘नगरपालिकाभित्रको आन्तरिक सुधारका लागि पनि पर्याप्त कदम चालेको हो’, उनी भन्छन्, ‘आम जनताको भावना, चाहना र आवश्यकतालाई शीरमा राखेर सत्य, न्याय, समानताका लागि कानुनको परिपालना गर्दै काम गर्दा मैले लिने निर्णय कहीँकतै कसै कसैलाई निर्मम लाग्न सक्छ, यसो गर्नु मेरो कामको रिजल्ट पनि हो ।’
पत्रकारहरुसँग कुरा गर्दै उनले थप्छन्, ‘हाम्रो मेयरले सही काम गरोस् भन्ने लाग्छ कि के त ? करोडौं बेरुजु राखेर, आवश्यकताभन्दा बढी कर्मचारी राखेर हुन्छ, संघीय अनुगमनको दृष्टिमा रातो मसी लाग्नेगरी मैले नगरपालिका चलाउनु त ?’
उनले उपमहानगरपालिकालाई अनेकौं मुद्दा लगाएको पार लगाउनुपर्ने आफ्नो दायित्व रहेको बताउँदै भने, ‘अझै हामी हेर्दैछौं ।’ उनले १५० जनाभन्दा बढी करारमा कर्मचारी नियुक्त भएको पाइएको जानकारी दिए । ‘जनताले आवाज दिए यिनीहरुलाई पनि छाँट्छौं धरानको विकासको लागि चाहिनेमात्रै कर्मचारी राख्नुपर्छ ।’ उनले कुराकानीको क्रममा भने ।

प्रकाशित मिति: साउन १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend