मोरङको विराटनगरस्थित विराट हेल्थ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार इटहरी घर भएकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
प्रवक्ता श्रेष्ठले ५० वर्षीय प्रशिक्षकद्वय सुरज सुवेदी र विनोद राउतलाई इटहरी घर भई विराटनगरस्थित विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया एक युवतीलाई सामूहिक रूपमा बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए।
होटलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ । राउत कराँते प्रशिक्षक हुन् । उनले होटलमा लगेपछि युवतीको भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् ।