विराटनगरः मोरङको बेलबारी नगरपालिका–८ पूर्व–पश्चिम राजमार्गमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
बिहान ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा११च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को१ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किँदा कार चालक बेलबारी –१ का २२ वर्षीय सन्दीप लामिछाने र कारमा सवार दमक–४ का १४ वर्षीय राजु बराइली घाइते भएका थिए ।
घाइते दुवैजनालाई उपचारको लागि बेलबारी अस्पताल पठाइएको र बराइलीलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।