Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको खानेपानीको हिसाब सार्वजनिक

हाम्रो कोशी आवाज
साउन १३ २०७९, शुक्रबार
धरानको खानेपानीको हिसाब सार्वजनिक

धरानः धरानका मेयर हर्कराज राई साम्पाङले खानेपानीको हिसाब सार्वजनिक गरेका छन् ।
शुक्रबार खानेपानी बोर्डको कार्यालय (पुरानो खानेपानी संस्थान) को कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले हिसाब सार्वजनिक गरेका हुन् । गत आर्थिक वर्षमा खानेपानी बोर्डको आय र व्यय सार्वजनिक गरेका हुन् । उनले यो पहिलो अभ्यास हो भनेका छन् ।
गत आर्थिक वर्षमा बोर्डमा अघिल्लो वर्षको नगद मौज्दातसहित १५ करोड ४ लाख ५६ हजार ६ सय २२ रुपैयाँ आय भएको छ भने खर्चतर्फ १२ करोड ४७ लाख २३ हजार ८ सय ८४ रुपैयाँ भएको देखाइएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकमा ३ लाख ४३ हजार ४५१ रुपैयाँ र माछापुच्छे बैंकमा २ करोड २२ लाख ९७ हजार ८८६ रुपैयाँ नगद मौज्दात रहेको पनि हिसाबमा देखाइएको छ ।
मेयर साम्पाङले आफूले खानेपानीको मुद्दा लिएर चुनाव जितेको र जनतालाई खानेपानीको हिसाब समेत सार्वजनिक गर्छु भन्ने प्रतिबद्धता जनाएअनुसार हिसाब सार्वजनिक गरेको बताए । ‘मैले चुनावताका जनतासँगै भोट माग्दै गर्दा यो कुरामा पनि प्रतिबद्धता जनाएको थिएँ’, उनले भने, ‘त्यही सुशासन र पारदर्शीताका लागि यो काम गरेको हुँ ।’

उनले व्ययभार घटाएर भएपनि जनतालाई सहुलियत दरमा पानी खुवाउने आफ्नो प्रतिबद्धता रहेको समेत बताए । ‘खासमा अहिले सरसर्ती हेर्दा खर्च बढी भएको नै देखियो’, उनले भने, ‘खर्च कम गर्दै जनतालाई पानी खुवाउन म लागिपर्नेछु ।’
मेयर साम्पाङले एडिबीबाट लिएको ऋण अझै ५४ करोड रहेको बताउँदै त्यो रकम तिरिसकेपछि धराने जनतालाई थप राहत मिल्ने बताए । ‘वर्षमा ६ करोडको दरले यो ऋण तिर्नुपर्ने देखिएको छ, त्यो चाँडै तिरिसकेपछि म धराने जनतालाई सहुलियतमा पानी खुवाउनेछु ।’ उनले प्रत्येक वर्ष तीनपटक यस्तो हिसाबकिताब सार्वजनिक गरिरहने पनि बताए । उनले बोर्डमा कर्मचारी धेरै भएकोले पनि आर्थिक भार पर्न गएको समेत बताए ।

प्रकाशित मिति: साउन १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend