धरानः कोशी नदीको भंगालो बस्तीमा पसेको छ । बुधबार बिहानदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
उदयपुर जिल्लाको बेलका नगरपालिका–८ डुम्री बोटे लाहुरेखोचबाट कोशी नदी पश्चिमतर्फ पसेको छ । २०३० सालसम्म कोशी नदी सोही धारबाट बग्ने गरेको थियो ।
अहिले पुनः सोही धारबाट नदी बग्दा नदीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ । अरुलाई सार्ने काम भइरहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।
बेलकामा मात्रै नदी पश्चिम तर्फ सोझिँदा २० हजार नागरिक प्रभावित हुने उनले बताए । नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
उनका अनुसार वेलकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ ।
उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
पानीको बहावले अहिले झन्डै ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका बासिन्दालाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए।
गृहमन्त्री खाँणले बेलकामा सप्तकोसीले गरेको कटानबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गरेका छन। उनीहरूबीच कटानबाट प्रभावित बस्तीका बासिन्दालाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको छ।